एनआरएनएको दशौँ महाधिवेशन काठमाडौंमा सुरु

एनआरएनएको दशौँ महाधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । विदेशिएका नेपालीहरूको हक–हितका लागि स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ।

महाधिवेशन होटल हिमालयमा चलिरहेको छ। महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे।

दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍.हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने भएका छन्।

संघको नेतृत्वको लागि भएको विवाद अन्त्य गर्न बहुअध्यक्षीय प्रणालीको लागि महाधिवेशनमा विधान संशोधन गर्ने तयारी गरिएको छ। आजै संघको विश्व सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ।

हरेक २ वर्षमा महाधिवेशन गर्नुपर्ने प्रावधान छ । यसपटक भने ६ महिना ढिलो भएको छ। गत अक्टोबरमै हुनुपर्ने महाधिवेशन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण रोकिएको थियो।