एनआरएनएको महाधिवेशनमा बहु–नेतृत्वको प्रस्ताव पेस हुने

एनआरएनएको महाधिवेशनमा बहु–नेतृत्वको प्रस्ताव पेस हुने फाइल फोटो : एनआरएनएका तीन अध्यक्ष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बहुअध्यक्षको प्रस्ताव आगामी महाधिवेशनमा लैजाने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा बहुअध्यक्षको प्रस्ताव आगामी महाधिवेशनमा छलफलका लागि लैजाने सहमति बनेकोबारे जानकारी दिइएको हो।

नेपालका राजनीतिक दल जस्तै बहु अध्यक्षीय प्रणाली अन्तर्रगत सहमति भएपछि फुटको संघारमा पुगेको संघ तत्काललाई जोगिएको छ।

संघका अध्यक्ष कुमार पन्तले बहुअध्यक्षको प्रस्ताव महाधिवेशनमा लैजाने र त्यसमा सहमति बनेपछि मात्र कार्यान्वयन हुने बताए। उनले यसको कार्यकाल पनि महाधिवेशनले नै तय गर्ने बताए।

उनले यसअघि परराष्ट्रसँग देखिएको विवाद पनि समाधान भइसकेको बताए। उनले आफूहरु नियम कानुनअनुसार नै चलेको भन्दै अदालतको आदेश मान्ने बताए। साथै अदालतमा विचाराधिन मुद्दा पनि फिर्ता हुने उल्लेख गरे।

‘नियम कानुन नलाग्ने भन्ने हुँदैन। अदालतले २३ तारिखसम्म निर्वाचनसम्बन्धी गतिविधि नगर्नु भनेको छ, गर्दैनौं। ति सबै मुद्दाहरु फिर्ता गरिन्छ। परराष्ट्रसँग विवाद थियो, सकियो। नियम कानुन उल्लङ्घन हुँदैन। सवै विधानअनुसार नै हुन्छ’, पन्तले भने।

पन्तले डेलिगेट्ससम्बन्धी विवाद पनि समाधान भएको बताए। ‘डेलिगेट्ससम्बन्धी विवादत सकिएको छ। अब कुनै विवादित डेलिगेट्स हुँदैनन्। पास गरेको विधानभन्दा फरक जान मिल्दैन त्यही अनुसार अधिवेशन गरिरहेका छौं र हुन्छ पनि। त्यही अनुसार संस्था अघि बढीरहेको छ। निर्वाचनसम्बन्धी विवाद थियो तीनजनाले मान्नुभो सहमति गर्नुभो त्यो सकियो। पास गरेको विधान अनुसार नै महाधिवेशन हुन्छ’, उनले भने।

एनआरएनए अध्यक्षका लागि डा. बद्री केसी, कुल आचार्य, र रविना थापाले दाबेदारी प्रस्तुत गरेका थिए। उनीहरुले आगामी कार्यकालका लागि आफूहरु आलोपालोमा जान सहमत भएको बताए। केसीले आफूहरुबीचको सहमतिले आगामी महाधिवेशन अझ मर्यादित र भव्य हुने बताए। उनले यसका लागि विधानमा आवश्यक संशोधन गरिने बताए।

यस्तै आचार्यले राष्ट्रिय सहमतिको महाधिवेशनमा जान लाग्दा अब पक्ष र विपक्षमा नभइ एक भएर जाने बताए। आफूहरुबीच बनेको सहमतिले सम्पूर्ण गैरआवासीय नेपालीको भावनालाई अझ प्रगाढ बनाउने उनले उल्लेख गरे। अहिले आफूहरु सबै कुरा भुलेर सत्तालाई बचाउने अभियानमा लागेको उनले बताए।

आगामी २४ र २५ मार्चमा एनआरएनको महाधिवेशन तय भएको छ।