जापानले कोभिड विरुद्धका प्रतिबन्धहरु १८ वटा जिल्लामा हटायो

जापानले कोभिड विरुद्धका प्रतिबन्धहरु १८ वटा जिल्लामा हटायो

टोकियो । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरुद्धको प्रतिबन्धहरुलाई १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ।

जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरुद्ध अपनाउनुपर्ने मापदण्डका रुपमा प्रतिबन्धहरु लगाइएको थियो।

जापान सरकारले ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरुलाई हटाएको जनाएको समाचारमा बताइएको छ।यसरी प्रतिबन्धहरु हटाइएका प्रिफेक्चरहरुमा टोकियो र ओसाका पनि रहेका छन्।

गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरु लगाइएको थियो। आज मंगलबारदेखि अधिकारीहरुले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो ।

नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरु सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो।

तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ। अब नागरिकहरु ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरु सञ्चालन गर्न पाउने भएका छन् ।

बाँकी प्रिफेक्चरहरुमा भने कोभिड १९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ। आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरु हटाउन सकिने सरकारले जनाएको छ।