एनआरएनए फुटाउन भारत लाग्यो : प्रवक्ता क्षेत्री

एनआरएनए फुटाउन भारत लाग्यो : प्रवक्ता क्षेत्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिबी क्षेत्रीले संघलाई फुटाउन भारतीय गुप्तचर संस्था सक्रिय रहेको आरोप लगाएका छन्। भारतले नेपालमा लगाएको नाकाबन्दी र नेपाल भारत सीमा नाकाको विषयलाई एनआरएनएले अन्तर्राष्ट्रियकरण गरेकाले भारतले संघलाई फुटाउन खोजेकाे क्षेत्रीले बताए।

एनआरएनभित्र भएको सानो विवादलाई ठूलो बनाएर विदेशमा बस्ने नेपालीलाई विभाजन गर्न खोजिएको उनको भनाइ छ। ‘संघ भित्र ठूलो केही भएको छैन। सानो घाउलाई क्यानसर बनाइयो। मलाई यहाँ कुनै अदृश्य शक्ति लागेको डर लागिरहेको छ,’ महाधिवेशन प्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले भने।

ओमन निवासी क्षेत्री आगामी निर्वाचनको उपाध्यक्षका प्रत्यासी हुन्।

संस्थाको एकता लागि हरसम्भव प्रयास गरेको उनले दाबी गरे । तर, सबै प्रयास असफल भएको उनको भनाइ छ। ‘के हामी नबुझेर संस्थालाई दुर्घटनामा लैजादै छौ र ? आज हामी बिषम परिस्थितिमा छौ, संस्था जोगाउन कहाँ पुगेनौ र ? प्रधानमन्त्रीकोमा पुगेनौँ कि ? राजनीतिक दलका नेतासँग पुगेनौँ कि ? तर, निचोडमा पुग्न सकेका छैनौँ । यसमा शंका गर्ने थुप्रै ठाउँ छन्,’ क्षेत्रीले भने।

क्षेत्रीकाअनुसार भारतीय प्रधानमन्त्री विश्वका विभिन्न देशको भम्रणमा जाँदा संघले नेपालको पक्षमा आवाज उठाएको थियो । जुन भारतलाई मन नपरेको क्षेत्रीको भनाइ छ। ‘जहाँ–जहाँ नरेन्द्र मोदी भम्रण गरे, त्यहाँ हामीले कालो झण्डा देखायौँ, यसकारण भारत शंसकित छ । त्यत्तिबेलादेखि नै उनीहरुको नजरमा एनआरएनए परेको थियो,’ क्षेत्रीले भने।

यसअघि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि संघले पनि सो नक्साप्रति आपत्ति जनाएको थियो । नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशिल विषयमा विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने भन्दै संघले संसारभरका भारतीय दूतावासमा विरोधको कार्यक्रम आयोजना गरेको उनले जिकिर गरे।

भारतले नेपालको सीमा मिचेको विषयलाई लिएर संघ संयुक्त राष्ट्र संघको न्यूयोर्कस्थित मुख्यालयसम्म पुगेको थियो । राष्ट्र संघमा नेपालबारे तथ्यपूर्ण जानकारी दिँदै सीमा मिच्नेलाई सजग गराउन दवाव दिएकै कारण भारत संघप्रति रुष्ट रहेको क्षेत्रीको भनाइ छ ।

नेपालका कुनै पनि राजनीतिक दललले हामीलाई भारतले नाकाबन्दी गर्‍यो भनेर बोल्न नसकेको अवस्थामा गैरआवासीय नेपाली संघले यसलाई अन्तर्राष्ट्रियकरण गरेको थियो । विश्वभरका भारतीय दूतावासहरुमा ज्ञापन पत्र बुझाएको थियो। सीमा विवादमा यूएनदेखि सबै निकायसम्म पुगरे विरोध गरेको उनले स्मरण गरे। ‘कही हामी त्यसैको सजाय त भोग्दै छैनौँ ? म सोच समझ र होसमा भन्दै छु, मलाई गम्भीर आशंका छ,’ उनले भने।