एनआरएनएको विधानभन्दा एक इन्च पनि बाहिर जादैनौँ : डा. बद्री केसी

एनआरएनएको विधानभन्दा एक इन्च पनि बाहिर जादैनौँ : डा. बद्री केसी फाइल फोटो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी डा. बद्री केसीले आफूहरु संस्थाको विधान मिचेर एक इन्च पनि बाहिर नजाने बताएका छन्।

वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहेका डा. केसीले सहमतिको नाममा विधानविपरीत कुनै पनि किसिमको सम्झौता नहुने स्पष्ट पारे।

‘संस्था जोगाउन हामी लचककता अपनाउन तयार छौँ। तर, विधि विधानभन्दा एक इन्च पनि पछि हट्दैनौँ,’ शनिबार ओसिनिया क्षेत्रका महाधिवेशन प्रतिनिधिसँग अन्त्तक्रियाका क्रममा उनले भने।

संघको निर्वाचन २४ र २५ मार्चमा अनलाइनमार्फत हुँदैछ। नयाँ नेतृत्वका लागि डा. केसी र अर्का उपाध्यक्ष रवीना थापाको दावेदारी परेको छ। अध्यक्षमा उम्मेदारी दिने चर्चामा रहेका कुल आचार्य भने प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै निर्वाचन प्रक्रियामा सहभागी भएका छैनन्।

यता संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्व अध्यक्ष जीवा लामिछानेले आचार्य समूहलाई पनि मिलाएर लैजान अन्तिम प्रयास गरिहरेका छन्। यसमा मध्यस्कर्ताको भूमिका कोषाध्यक्ष महेश श्रेष्ठले गरिरहेका छन्।

आचार्य समूह निर्वाचन प्रक्रियामा सामेल नभइ पावरको आडमा नेतृत्वमा आउन खोजिरहेको डा. केसीको आरोप छ। ‘एनआरएनएमा अहिले अति नै धेरै राजनीतिक हस्तक्षेप भयो। नेतृत्वमा आफ्नै मान्छे आए ठिक, नआए सबै बेठिक ?,’ डा.केसीले भने, ‘राजनीतिक पार्टी र सरकारको पावर देखाएर संस्था कब्जा गर्ने दुस्प्रयास कसैले नगरे हुन्छ।’

आचार्य समूहले भनेजस्तो प्रतिनिधि विवाद नरहेको डा. केसीको दावी छ।

‘नयाँ विधानमा प्रतिनिधि छनोटको प्रक्रिया यसअघिको भन्दा फरक छ। चुनावको बेला प्रतिनिधि किनबेच गर्ने अवस्था अहिले छैन,’ डा. केसी भन्छन्, ‘प्रोफेशनली जाँदा दलालहरुको पसल बन्द भयो। त्यसैले प्रतिनिधि छनोटमा धाँधली छ भनेर भम्र छरिएको छ।’

पूर्व अध्यक्ष घले समूहका केही व्यक्तिले चुनाव रोक्न अदालतमा समेत चलखेल गरेको उनको भनाइ छ। चुनावी प्रक्रिया कुनै पनि हालतमा नरोकिने उनले बताए।