हङकङमा कोभिड सचेतना तथा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम

हङकङमा कोभिड सचेतना तथा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम

हङकङ । कोभिडको प्रकोपमा विश्वभर मानसिक समस्या विकराल बनिरहेको अवस्थामा हङकङ पनि यो समस्याबाट अछुतो रहन सकेको छैन। हङकङमा अहिले कोभिडको पाँचौ लहर चलिरहेको छ। पछिल्लो लहरले अधिकांश नेपाली समेत संक्रमित भएका छन्।

कोभिड संक्रमितको संख्या दिनहुँ बढेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले नेपाली समुदायलाई लक्षित गरी स्वास्थ्य सचेतना जगाउने प्रयास गरिरहेको छ। यसैबीचमा संघले शारिरिक तथा मानसिक स्वास्थ्य सम्बन्धी परामर्श दिन भुर्चुअलमार्फत एक कार्यक्रम आयोजना गर्‍यो।कार्यक्रममा हङकङ, अमेरिका र नेपाललगायतका देशबाट विभिन्न क्षेत्रका स्वास्थ्य विज्ञहरु सहभागी थिए।

कार्यक्रमा एनआरएनए अन्तर्गतको स्वास्थ्य विभागका संयोजक डा‍. संजीव सापकोटाले कोभिडले मानिसमा थप मानसिक समस्या देखिन थालेको बताए। सापकोटाले मानसिक समस्यालाई बेलैमा समाधान गर्न नसक्दा डिप्रेसन तथा आत्महत्याका घटना घट्ने गरेकोे सुनाए। कार्यक्रममा उनले मानसिक स्वास्थ्य कसरी बलियो बनाउने ? भन्ने विषयमा लामो परामर्श दिएका थिए।

उनले कोभिड महामारीको समयमा साउदी अरब, यूएई, कुवेत, मलेसिया, क्यानाडा, अमेरिकालगायतका देशमा धेरै नेपालीले आत्महत्या गरेको जानकारी गराए। मानसिक तनाव, आर्थिक समस्यालगायतका कारणले मानिसले आत्महत्या रोजेको उनको भनाइ छ। ‘कोभिडको प्रत्यक्ष असर रोजगारीका क्षेत्रमा पर्‍यो। आम्दानी नहुँदा मानसिक तनाव बढ्यो। आर्थिक भार, खाना बस्नको अभाव र उचित किसिमको परामर्श नहुँदा केही नेपालीले आत्महत्या रोजे। यो अत्यन्तै दु : खद हो,’ सापकोटाले भने।

विश्वभरका ९० प्रतिशत कोभिडका विरामी निको भइसकेको बताउँदै संक्रमित हुँदैमा आत्तिहाल्नु नपर्ने डा.सापकोटा बताउँछन्। कोभिड भाइरसका नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस बेला–बेलामा देखा परिरहकोले लापरवाही गर्न नहुने उनको भनाइ छ। ‘भाइरसका नयाँ भेरियण्टहरुले चिन्ता थपेको छ। अझै पनि सावधानी अपनाउन जरुरी छ,’ सापकोटाले कार्यक्रममा भने।

उनले कोभिडले मानिसमा कसरी संक्रमण गर्छ ?, खोप लगाउनुका फाइदा, र कोभिडबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका मापदण्डकाबारेमा समेत प्रष्ट पारे।

यस्तै डा. सुप्रभा महरा र डा.सर्मिला गुरुङले हङकङमा कोभिडको वर्तमान अवस्था र महामारीले पुर्‍याएको असरकोबारेमा जानकारी गराएका थिए। महरा र गुरुङ दुवै हङकङको स्वास्थ्य सेवामा कार्यरत छन्।

गुरुङले थुप्रै नेपाली कोभिडबाट संक्रमित भएको बताइन्। गुरुङले कोभिड नियन्त्रणका लागि अग्रपंक्तीमा रहेर हङकङ सरकारलाई योगदान पुर्‍याइरहेकी छिन्।

यस्तै कार्यक्रममा नेपालबाट जोडिएका डा. प्रभाकर पोखरेलले कोभिडले धेरै क्षेत्रका मान्छेलाई तहसनहस गराएको बताए। कोभिडबाट विस्थापित भएका व्यक्तिहरु अहिले मानसिक स्वास्थ्य समस्याबाट गुज्रिएकोले यसलाई निराकण गर्न सबै क्षेत्र सक्रिय हुनुपर्ने बताए। उनले मानसिक तनाव कसरी कम गर्ने ? भन्ने विषयमा वुँदागत रुपमा प्रस्टाएका थिए।

यस्तै अमेरिकाबाट सहभागी अर्का डा. प्रकाश श्रेष्ठले कोभिडविरुद्धका खोपका बारेमा प्रकाश पारेका थिए। प्रकोप तथा महामारी विशेषज्ञ डा. श्रेष्ठले कोभिड संक्रमित भएको खण्डमा के गर्ने ? घरमै उपचार कसरी गर्ने ? भन्ने विषयमा समेत जानकारी गराए।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा महावाणिज्य दूतावास हङकङका महावाणिज्य दूत उदयबहादुर राना थिए। कार्यक्रममा बोल्दै रानाले हङकङमा झण्डै ३० हजार नेपाली रहेको र उनीहरु सबैसँग सहकार्य गर्न एनआरएनएले भूमिका खेल्नुपर्ने बताए। ‘यहाँ धेरै संघ–संस्था छन्। हामीले सबै नेपालीसँग सहकार्य गर्न नसकिरहेको अवस्था छ। सबैसँग सहकार्य गर्न एनआरएनएले काम गर्नुपर्छ,’रानाले भने।

पछिल्लो समय हङकङमा कोभिड तीव्र गतिमा फैलिरहेकोले सजग हुनुपर्ने उनले बताए। नेपालीहरु आत्तिरहेको अवस्थामा एनआरएनएले उपलब्धीमुलक कार्यक्रम आयोजना गरेको भन्दै उनले धन्यावाद समेत दिए।

यस्तै कार्यक्रमका सभापति समेत रहेका एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालले आफूहरुले विभिन्न चरणमा कोभिड प्रभावितलाई सहयोग पुर्‍याइरहेको बताए। आगामी दिनमा पनि कोभिड राहत तथा उद्धार कार्यक्रमलाई निरन्तर दिइने उनको भनाइ छ।

‘कोभिड–१९ को महामारीको त्रासमा मानिसहरुमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको हुँदा परामर्श दिने हेतुले यो कार्यक्रमको आयोजना गरिएको हो,’ अध्यक्ष ढकालले भने, ‘डर,त्रास र चिन्ताले सताइरहेको बेला यस्ता कार्यक्रमले यहाँ रहेका नेपालीलाई राहत मिल्छ।’

औपचारिक कार्यक्रमको सञ्चालन महासचिव दिल्लीराम विश्वकर्माले गरेका थिए भने सहजीकरण अनिसा भण्डारीले गरेकी थिइन्।