नेपाल-यूएई संयुक्त समितिको आबुधावी बैठक : सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता

नेपाल-यूएई संयुक्त समितिको आबुधावी बैठक : सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता

आबुधावी । नेपाल- यूएई संयुक्त समितिको दोस्रो बैठक राजधानी आबुधावीमा सम्पन्न भएको छ। आबुधावीस्थित संयुक्त अरब इमिरेट्सको मानव संशाधन मन्त्रालयमा भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे समीक्षा भएको थियो।

बैठकमा नेपाल सरकारले दक्ष जनशक्ती उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई सहयोग गर्ने प्रतिवद्धता यूएईले गरेको छ।

यस्तै यूएईमा रोजगारी गरी नेपाल फर्केका श्रमिकहरुलाई सहयोग गर्ने गरी संचालन हुने पुनर्एकीकरण योजनामा नेपाल सरकारको प्रस्ताव अनुसार सहयोग गर्ने प्रतिवद्धता पनि यूएईले जनाएको छ। यूएईमा रहेका नेपालीहरुलाई कामका आधारमा विभिन्न १९ क्षेत्रमा वर्गीकरण गरी त्यसमध्ये ५ वटा क्षेत्रमा श्रमिक भर्ना प्रकृया पुर्णत निशुल्क गर्ने गरी पाइलट प्रोजेक्ट अघि बढाउन पनि यूएईले सहमत भएको छ। पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी विदामा स्वदेश आई फर्कने वा पहिलेकै रोजगारदातासँग सम्झौता नविकरण गरी रोजगारीमा जाने महिलालाई कानुनी शर्त पूरा गरेर पुन: श्रम स्वीकृति दिने सरकारको निर्णयबारे यूएई पक्षलाई नेपाली टोलीले जानकारी गराएको थियो।

बैठकमा वैदेशिक रोजगारीका क्रममा यूएईमा कार्यरत नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका बिषयमा पनि छलफल भएको थियो।