किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

किन आएका थिए साउदी विदेशमन्त्री नेपाल ? के भयो द्विपक्षीय वार्तामा ?

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन्।

नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल भ्रमण गरेका थिए ।

विन तलाललाई नेपाल सरकारले ‘महाउज्ज्वल राष्ट्रदीप’ पदवीबाट सम्मानित गरेको थियो । यो नेपालले विदेशी नागरिकलाई दिने सबैभन्दा ठूलो सम्मान हो। नेपालमा गणतन्त्र स्थापना भएपछि ‘महाउज्ज्वल राष्ट्रदीप’बाट सम्मानित हुने विन तलाल पहिलो विदेशी नागरिक बनेका थिए।

विन तलालले साउदी राजकुमारको रुपमा २०६७ कात्तिक अन्तिम साता नेपालको भ्रमण गरेका थिए । विन तलालपछि साउदीबाट नेपालमा भएको दोस्रो उच्चस्तरीय भ्रमण पनि साउदी अरबको राजपरिवारका सदस्यबाट नै भएको छ ।

तर, यसपटक साउदले राजकुमारका रुपमाभन्दा पनि साउदी विदेशमन्त्रीको रुपमा नेपाल भ्रमण गरेका हुन्।

साउदी विदेशमन्त्री मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी बनेका थिए । बैठकमा दुई देशबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ (सहायता सम्झौता)मा हस्ताक्षर भएको थियो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री साउदले हस्ताक्षर गरेका थिए ।

बैठक समिएपछि साउदी विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्री साउद एउटै मात्र उदेश्य बोकेर नेपाल भ्रमणमा आएका थिए।

स्रोतका अनुसार उनले उक्त उदेश्यलाई नेपाल–साउदी बैठकमा स्पष्ट राखेका थिए।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्रीले सन् २०२३ को अन्ततिर फ्रान्समा हुने अन्तरसरकारी निकाय ब्युरो इन्टरनेसनल एक्सपोजिसन् (बीआइई)को निर्वाचनमा आफ्नो देशको पक्षमा मत मागेका थिए । उनी यही मत माग्नको लागि नेपाल भ्रमणमा आएका थिए ।

बीआइईमा नेपाल लगायत विश्वका १७० राष्ट्र सदस्य रहेका छन् । सन् २०३० मा बीआइईले आयोजना गर्ने ‘वल्र्ड एक्स्पो २०३०’ को लागि रुस, दक्षिण कोरिया, इटाली, युक्रेन र साउदी अरब गरी पाँच देशले आवेदन दिएका छन् ।

‘वल्र्ड एक्स्पो २०३०’ आयोजना कस्ले गर्ने भन्ने निर्णय मतदानाबाट गरिने छ । मतदानमा बीआइई सदस्य राष्ट्रहरुले मतदान गर्नेछन् जहाँ नेपाल पनि सहभागी हुनेछ । यसैकारण उक्त मतदानमा साउदीको पक्षमा मत माग्न उनी नेपाल आएका थिए।

‘साउदी विदेशमन्त्रीले आउँदो वर्ष फ्रान्समा हुने मतदानमा सहयोग गर्न विशेष अनुरोध गर्नु भएको छ,’ नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र उच्च स्रोतले भन्यो। बैठकमा उक्त विषयमा नेपाली पक्षले उपयुक्त समय आएपछि निर्णय लिने बताएको थियो।

बैठकमा नेपालले भने विशेष रुपमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका तथा जाने कामदारको विषयलाई उठाएको थियो । नेपाली कामदारको हितको लागि छिटो दुई देशबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिई कार्यन्वयनमा ल्याउनु पर्ने कुरामा नेपालले जोड दिएको थियो ।

‘हामीले नेपाली कामदारको हक,अधिकार र हितका विषय राख्यौं। हज गर्न जाने नेपालीको संख्या बढाइदिन पनि अनुरोध गरेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो।