मलेसियामा नेपालीबाटै ठगिन्छन् नेपाली

मलेसियामा नेपालीबाटै ठगिन्छन् नेपाली

काठमाडौं । बाग्लुङका दीपक सुवेदी रोजगारको लागि मलेसिया गएको २ वर्ष भयो। उनी २ वर्षदेखि मलेसियाको इपो पेराक पेनाङक कलानमा रहेको फाल्कोन प्लास्टिक कम्पनीमा कार्यरत छन्। दीपक कमाई भएको रकम घर खर्चका लागि नेपाल पठाउने गर्छन् त केही रकम आफ्नो व्यक्तिगत खर्चका लागि प्रयोग गर्छन्। सबैकुरा सोचेअनुरुप नै भइरहेको थियो। तर, फेब्रुअरीमा भने यस्तो भएन उनको उनले आफ्नो कमाइको १५ सय रिंगेट रकम त्यतिकै गुमाए कारण थियो विश्वास।

सल्यान घर भएका ४० वर्षीय तेजबहादुर सुनार दीपकसँगै यही कम्पनीमा काम गर्थे। तेजबहादुरले दीपकसँग १५ सय रिंगेट सापटी लिएका थिए । तर, गत २६ फेब्रुअरीदेखि तेजबहादुर फरार छन्। दीपक भन्छन्, ‘आफ्नै साथी भनेर विश्वास गरेर पैसा दिएँ आज न साथी छ न पैसा।’

तेजबहादुरले दीपक बाहेक उनको चिनजानमा रहेका ५,६ जनासँग पैसा लिएका थिए । तर,कसैको पनि पैसा फिर्ता गरेका छैनन्। उनले त्यहाँ रहेका नेपालीहरुको मात्र नभई अन्य मलेसियन र तामिलहरुको पनि पैसा लिएका छन्। थोरै पैसा भएकोले आफूले कहिँँकतै उजुरी नगरेको दीपक बताउँछन्।

‘म जस्तै अरु नठगिउन् भनेर तपाईहरु सामु कुरा राखेको हुँ,’ दीपकले प्रवास खबरसँग भने, ‘यस्ता ठगहरुले धेरै नेपाली दाजुभाईलाई बर्बाद पारिरहेका छन्।’

यसरी ठगिनेमा दीपक प्रतिनिधि पात्र हुन्। मलेसियामा नेपालीबाट नेपाली नै ठगिएका थुप्रै घटना सार्वजानिक भइरहेका हुन्छन्। कतिपयले विभिन्न दु : ख देखाएर सापटी मागिरहेका हुन्छन् भने केहीले ब्याज दिने बाहनामा नेपालीबाट पैसा माग्ने गरेको अर्घाखाँचीका श्रीराम खनाल बताउँछन्। उनका अनुसार सहकर्मीबाटै ठगिने नेपालीको संख्या ठूलो छ। ‘कतिपय अपरिचितको प्रलोभनमा परेर फस्ने गर्दछन् त कतिपयलाई नेपाली साथीभाईहरुले नै फसाउन पछि पर्दैनन् । यो अत्यन्तै दु : खद हो,’ खनालले भने।

यस्तै आकर्षक तलबको जागिर लगाइदिने प्रलोभन देखाएर नेपालीले नेपालीलाई नै ठग्ने गरेको घटना धेरै आउने गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका पूर्व अध्यक्ष हरि भट्टराई बताउँछन्।

‘राम्रो जागिर लगाइदिने, भिसा नभएकालाई वैध बनाइदिने, घर फर्किन सहज बनाइदिने जस्ता आश्वासन देखाएर नेपालीलाई ठगी गरिरहेका हुन्छन्,’ भट्टराईले प्रवास खबरसँग भने, ‘अरु देशकालाई ठग्ने त हिम्मत हुँदैन उनीहरुको । सोझा नेपाली उनीहरुको नजरमा पर्छन्।’ उनका अनुसार यस्ता अराजक गतिविधिमा संग्लन नेपालीहरु घरपरिवारसित सम्पर्कविहीन भएर वर्षौंदेखि मलेसियामा बसिरहेका हुन्छन्।

यसैगरी अनलाइनमार्फत पनि धेरै नेपाली ठगिने गरेको उनले बताए।

‘धेरै पैसा रिर्टन आउँछ भनेर अनलाइमा पैसा हाल्न लगाउने, जुवा खेलाउने, सट्टे बाजीमा पैसा हाल्न भनेर नेपालीलाई ठग्ने गरेको पाइन्छ । यस्तोमा धेरै पैसा डुबाएको गुनासो लिएर नेपाली आउँछन्,’ भट्टराई भन्छन्, ‘कतिपयलाई त हामी यहाँ प्रशासनसँग न्यायको लागि पहल गरेका छौँ। ठूलो केसहरु आए भने हामी विभिन्न निकायसँग समन्वय गरेर समाधान खोज्छौँ।’ यसमा नेपालीहरु आफै पनि सचेत हुनुपर्ने उनी बताउँछन्।