श्रममन्त्री श्रेष्ठ यूएईको आबुधावीमा

श्रममन्त्री श्रेष्ठ यूएईको आबुधावीमा

आबुधावी । नेपाल र संयुक्त अरब इमिरेट्सको संयुक्त समिति वैठक आज यूएईको राजधानी आबुधावीमा हुँदैछ । नेपाल–युएई संयुक्त समितिको वैठक उद्घाटन सत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारले सम्बोधन गर्नेछन्।

उद्घाटन सत्रपछि सुरु हुने प्राविधिक समूहको वैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्नेछन्। बैठकमा नेपाल र संयुक्त अरब इमिरेट्सबीच सन् २०१९ मा भएको श्रम–सम्झौता कार्यन्वयनबारे समीक्षा हुनेछ भने यसअघि भएको संयुक्त समितिको वैठकका निर्णय कार्यन्वयनको अवस्थाबारे पनि छलफल हुनेछ।

वैठकमा वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको सामाजिक सुरक्षा, कार्यस्थल सुरक्षा, स्वास्थ्य र वीमाको व्यवस्था, सीप विकास, पारिश्रमिक वृद्धिलगायतका बिषयमा पनि छलफल हुनेछ। साथै पर्यटन भिसामा आएर अलपत्र परेका नेपालीहरुको समस्या समाधानबारे पनि वैठकमा छलफल हुनेछ।

श्रममन्त्री श्रेष्ठ र युएईका समकक्षीबीच भेटवार्ता हुँदै

संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेकाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा अव्दुलरहमान अव्दुलमानन अल अवारबीच आज (मंगलबार) भेटवार्ता हुँदैछ । भेटवार्ताको क्रममा नेपाली श्रमिकको सुरक्षा र हितका विभिन्न आयामबारे छलफल हुनेछ । सो अवसरमा मन्त्री श्रेष्ठले भिजिट भिसा र सोबाट सिर्जित समस्या समाधानका उपायहरूबारे आफ्ना समकक्षीसँग छलफल गर्नेछन्।

मन्त्री श्रेष्ठ नेतृत्वको टोली सोमबार यूएईको राजधानी आबुधाबी आइपुगेको हो। आबुधाबी विमानस्थलमा मन्त्री श्रेष्ठ नेतृत्वको टोलीलाई संयुक्त अरव इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले स्वागत गरेका थिए । बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपाली श्रमिकले भोगेका समस्या र समाधानबारे नेपाली समुदायसँग छलफल गर्नेछन्।