फुटपरस्त गतिविधि नगर्न घलेलाई अध्यक्ष पन्तको चेतावनी

फुटपरस्त गतिविधि नगर्न घलेलाई अध्यक्ष पन्तको चेतावनी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले छुट्टै सम्मेलनको आयोजना गर्ने भन्दै एनआरएनएकै नाममा समामान्तर निर्वाचन कमिटि बनाएकोमा संघले आपत्ति जनाएको छ।

संघका अध्यक्ष कुमार पन्तले एक विज्ञप्ति जारी गर्दै संघका नाममा फुटपरस्त गतिविधि नगर्न चेतावनी दिएका छन्।

यसअघि घलेले संघको निर्वाचन समिति पूर्नगठन गरिएको र छुट्टै सम्मेलन आयोजना गर्ने भन्दै ‘अवैध’ प्रेस विज्ञप्ति जारी गरेका थिए। विधि र विधानविपरित घलेले चालेको उक्त कदमप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ।

२४ र २५ मार्चमा संघको निर्वाचन तय भइसकेको अवस्थामा आपसी सहमतिबाट नै अहिलेको समस्या समाधान गर्न सकरात्मक पहल भइरहेको अध्यक्ष पन्तको भनाइ छ।

अन्तर्राष्ट्रिय समन्वय परिषदको ८२ औं बैठकले घले नेतृत्वको संरक्षक परिषद र उच्च स्तरीय समिति भङ्ग गरिसकेको र संघको विधानले पूर्व अध्यक्षलाई कुनै पनि कार्यकारी अधिकार नदिएको विज्ञप्तिमा उल्लेख छ। यस्तो अवस्थामा पूर्व अध्यक्ष शेष घलेबाट चालिएका कदम अवैध हुने बताइएको छ।

यस्तै घलेद्वारा चालिएको वर्तमान गतिविधिले उच्च अदालतको समेत अपहेलना भएको अध्यक्ष पन्तको भनाइ छ।

‘केही महिना पहिले परराष्ट्र मन्त्रालयले संरक्षक परिषद्लाई निर्वाचन गराउन दिएको निर्देशनकाविरुद्ध दिइएको संघको रिट निवेदन उपर पाटन उच्च अदालतले संघले गठन गरेको निर्वाचन समितिले नै निर्वाचन प्रकृया अगाडि बढाउन अन्तरिम आदेश जारी गरिएको सर्वविदितै छ। पूर्वअध्यक्ष शेष घलेद्वारा चालिएको वर्तमान गतिविधिहरूले सम्मानित अदालतको समेत अपहेलना हुने हामीले महसुस गरेका छौ,’ विज्ञप्तिमा भनिएको छ।

यस्तै पन्तले संघमा विभाजन ल्याउने ल्याउने गतिविधि बन्द गरी सहमतिको वातावरण बनाउन आह्वान गर्दै विधानविपरितका कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन्।