एनआरएनए चुनाव : यी हुन् उपाध्यक्षका दाबेदार

एनआरएनए चुनाव : यी हुन् उपाध्यक्षका दाबेदार

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को यसपटको निर्वाचनमा उपाध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ।

हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ।

उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री ( ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान) ले उम्मेदवारी दिएका छन्। यीमध्येबाट ४ जना मात्रै निर्वाचित भएर आउनेछन्।

यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेदवारी परेको छ। दोहोरो उम्मेदवारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन्।

उपाध्यक्षमा आउने तयारीमा रहेका महेश श्रेष्ठले भने उम्मेदवारी दर्ता गराएनन्।

निर्वाचन समितिले शुक्रबार बेलुकाबाट मनोनयन दर्ता बन्द भइसकेको जनाएको छ। संघको निर्वाचन २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ।