एनआरएनए फुटाउन सघाएपछि कुल आचार्य समूहभित्रै विद्रोह, उपाध्यक्षमा शर्माको उम्मेदवारी

एनआरएनए फुटाउन सघाएपछि कुल आचार्य समूहभित्रै विद्रोह, उपाध्यक्षमा शर्माको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि अध्यक्षका प्रत्यासी कुल आचार्यको समूहभित्र विभाजन सुरु भएको छ। पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा संघलाई विभाजनतर्फ लगिएको र आचार्यले त्यसमा सघाएको भन्दै समूहभित्र भाँडभैलो मच्चिएको हो।

घले पिपुल नेपाली ओरिजिन (पीएनओ) नामको छुट्टै संस्था खोल्ने तयारीमा जुटेका छन्। प्रतिनिधि विवाद देखाइ आचार्य समूहलाई उस्काइरहेका घलेले यतिबेला समान्तर निर्वाचन समिति गठन गरेको छन्।

‘घले ज्यू यो हदसम्म आउनुहुन्छ भन्ने हामीलाई लागेको थिएन। उहाँ त संस्था सिध्याउने खेलमा हुनुहुँदो रहेछ। यस्तो घिनलाग्दो कार्यमा कुल आचार्य पनि प्रयोग हुनुभयो। अब यो टिममा रहन नैतिकताले पनि दिदैन। संस्था रहेन हामि रहने हो,’ आचार्य समूहका एक उम्मेदवारले प्रवास खबरसँग भने। घलेलेकै कारण संघ गिजोलिएको उनको बुझाइ छ।

संघको आगामी कार्यकालको लागि निर्वाचन २१ र २२ मार्चमा हुँदैछ। घलेकै दवावमा आचार्य समूहका उम्मेदवारले मनोनय दर्ता गराएका छैनन्। निर्वाचन समितिले मनोनयन दर्ताको लागि आज बेलुकासम्मको म्याद तोकेको छ।

यता आचार्य समूहबाट उपाध्यक्षका प्रत्यासी रहेका राजेन्द्र कुमार शर्मा (आरके) ले भने उम्मेदवारी दर्ता गराइसकेका छन्। शर्माले आचार्य समूहको ह्विपलाई अस्वीकार गर्दै शुक्रबार निर्वाचन समिति समक्ष आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। कतार निवासी शर्मा उपाध्यक्ष पदका बलिया उम्मेदवार हुन्।

शर्माको उम्मेदवारीले आचार्य समूहमा महाभुकम्प गएको श्रोत बताउँछ। ‘छुट्टै एनआरएनए गर्ने सवालमा एक/दुई जनाबाहेक कसैको समर्थन छैन। र, यो सम्भव पनि छैन। आचार्य समूहका धेरैजसोले आज साँझसम्म उम्मेदवारी दिनुहुन्छ,’ श्रोतले भन्यो।

शर्माबाहेक युवा उपाध्यक्षका प्रत्यासी राज रेग्मी, सचिव पदका प्रत्यासी नारायण आचार्य, कोषाध्यक्षका प्रत्यासी लोकप्रसाद दाहाललगायतले उम्मेदवारी दिन लागेको श्रोतको दावी छ।