परराष्ट्रमन्त्री खड्कासँग एनआरएनएका प्रतिनिधि आक्रोसित, भारतको गुलामी गरेको आरोप

परराष्ट्रमन्त्री खड्कासँग एनआरएनएका प्रतिनिधि आक्रोसित, भारतको गुलामी गरेको आरोप

काठमाडौं । गत सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री खड्काले युद्धबाट प्रभावित युक्रेनका नेपालीको उद्धार र सहयोग गरेको भन्दै भारत सरकारलाई धन्यावाद ज्ञापन गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन्।

मन्त्री खड्काले नेपाली समुदाय र एनआरएनएको पहलकदमीलाई नजरअन्दाज गरी भारत सरकारलाई धन्यावाद दिएको भन्दै उनीहरुले असन्तुष्टि जाहेर गरेका हुन्।

पत्रकार सम्मेलनमा मन्त्री खड्काले भारतीलगायतका देशको सहयोगमा ५ सयभन्दा धेरै नेपालीको युक्रेनबाट उद्दार सम्भव भएको र धेरै नेपाली पोल्याण्ड पुगेको जनाएका थिए।

‘नेपाल सरकारका परराष्ट्रमन्त्री नारायण खड्काले सोमबार आफ्नै कार्यालयमा पत्रकार सामु युक्रेनमा अलपत्र नेपाली भारतलगायत देशले उद्धार गरी पोल्याण्ड लगायतका देशमा सुरक्षित स्थानान्तरण भन्ने भनाइ आफैमा प्रमाणविहिन, हाँस्यास्पद र लज्जावोधले भरिएको छ,’ एनआरएनए पोल्याण्डले विज्ञप्तीमार्फत भनेको छ, ‘परराष्ट्रमन्त्री खड्काको अभिव्यक्ति गैरआवासीय नेपाली संघको अथक मिहिनेतमाथिको कुठाराघात हो।’

युद्ध प्रभावित नेपालीलाई राहत तथा सहयोगको लागि एनआरएनले टास्क फोर्स नै बनाएको छ। जर्मनीस्थित नेपाली दूतावासको समन्वयमा एनआरएनए पोल्याण्डले १५ जना नेपालीलाई युक्रेनमै पुगि सकुशल पोल्याण्ड ल्याएको थियो।यस्तै २९८ भन्दा धेरै नेपालीलाई पोल्याण्डमा खान, बस्न प्रबन्ध मिलाइरहेको एनआरएनए पोल्याण्डले जनाएको छ।
हालसम्म पोल्याण्डमा ४४३ नेपाली आएको र अहिले पनि एनआरएनए पोल्याण्डको पहलमा झन्डै एक सय माथिलाई होस्टेलमा राखिएको विज्ञप्तीमा उल्लेख छ।

परराष्ट्रमन्त्री खड्काको उक्त भनाइको गैरआवासीय नेपाली संघका प्रतिनिधिले सामाजिक सञ्जालमार्फत पनि व्यापाक आलोचना गरिरहेका छन्। कतिपयले त मन्त्री खड्कालाई एनआरएनए ‘फोबिया’ भएको भन्दै आलोचना गरेका छन्। मन्त्रीखड्कालाई भारतको गुलामी गरेको आरोप लगाइएको छ।

‘काम गर्ने कालु मकै खाने भालु भन्ने उखान पनि परराष्ट्रमन्त्रीलाई देखेर बनेको होला । जिराे डिग्रीभन्दा तल रहेको यहाँको तापक्रममा काम गरेर उद्दार गर्नेप्रति धन्यवाद दिनु त कता हो कता उल्टै अरुलाई जस दिने,’ माधव सुवेदीले लेखेका छन्।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले उद्धारै नगरेको भारतलाई धन्यवाद दिएपछि रातदिन खटेर काम गर्नेहरुको मनमा चोट पुगेको बताए।

उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र संघका उपाध्यक्ष डा.बद्री केसीको संयोजत्वमा  एक उच्चस्तरीय समिति गठन गरिएको थियो। यो समिति अहिले पनि सकृय रहेको उनको भनाइ छ। युद्धबाट विस्थापित नेपालीको राहत तथा उद्धारको लागि संघका अध्यक्ष कुमार पन्त सीमा क्षेत्रमा आफै खटिएको शर्माले बताए।

‘युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा विभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको छ,’ प्रेस संयोजक शर्माले भने।