एनआरएनएमा विभाजन ल्याउन नदिन अध्यक्ष पन्तकाे प्रयास जारी, मनोनयन दर्ताको समय थप

एनआरएनएमा विभाजन ल्याउन नदिन अध्यक्ष पन्तकाे प्रयास जारी, मनोनयन दर्ताको समय थप

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिले उम्मेदवारको मनोनयन दर्ताको समय थप गरेको छ। निर्वाचन समितिले अध्यक्ष कुमार पन्तको लिखित अनुरोधमा तीन दिनको समय थपेको हो।

यसअघि मनोनयन दर्ता प्रक्रियाको लागि ७ मार्च विहान ११ बजेदेखि ८ मार्च बेलुका ५ बजेसम्म समय तोकिएको थियो। तर, अध्यक्ष पन्तको अनुरोधमा ११ मार्च बेलुका ५ बजेसम्मका लागि समय थप गरिएको समितिले जनाएको छ।

सोमबारदेखि सुरु भएको मनोनयन प्रक्रियामा कुल आचार्य समूहका उम्मेदवारले दर्ता गराएका छैनन्। ८२ औं आइसीसी बैठकले शेष घले नेतृत्वको संरक्षक परिषद् र उच्चस्तरीय समिति खारेज गरिदिएपछि रुष्ट बनेको आचार्य समूहले चुनावमा भाग नलिने अडान कसेको छ।

एनआरएनए उच्च श्रोतका अनुसार संघमा विभाजन ल्याउन नदिन अध्यक्ष पन्तले अहिले अन्तिम प्रयास गरिरहेका छन्। ‘सबै पक्षलाई चुनावमा सामेल बनाउन प्रयास भइरहेको छ। सोही अनुरुप कार्यसमितिका पदाधिकारीको सल्लाहमा अध्यक्ष ज्युले निर्वाचन समितिलाई मनोनयन दर्ताको समय थप्न अनुरोध गर्नुभएको हो,’ श्रोतले भन्यो।

यसैबीच सबै पक्षसँग नजिक मानिने संघका कोषाध्यक्ष महेश श्रेष्ठ तत्काल काठमाडौं आउँदैछन्। श्रेष्ठलाई सबै पक्षलाई चुनावी मैदानमा सहभागी हुनेगरी वातावारण मिलाउन काठामाडौं पठाउन लागिएको श्रोतको भनाइ छ।