एनआरएनए सचिवमा रामशरण सिम्खडाको उम्मेदवारी

एनआरएनए सचिवमा रामशरण सिम्खडाको उम्मेदवारी

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सचिव पदमा रामशरण सिम्खडाले उम्मेदवारी दिएका छन्।

बेलायत निवासी सिम्खडाले सोमवार संघको निर्वाचन समिति समक्ष सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सिम्खडा सन् २००५ मा एनआरएनए बेलायत स्थापनाकालका सक्रिय संस्थापक सदस्य हुन्। सन् २०११ मा एनआरएनए बेलायतको महासचिव पदमा निर्वाचित भएका विभिन्न चरणमा निर्वाचन आयुक्त तथा सल्लाहकारको भूमिका निर्वाह गरेका छन्। सन् २००५, २०११ र २०१९ मा अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान समितिमा महत्वपूर्ण भूमिकामा रहेका सिम्खडाले आइसीसी सदस्यको रुपमा सफलतापूर्वक २ कार्यकाल पूरा गरेका छन्।

सिम्खडा संस्थागत विकासमा दक्षता हासिल गरेका व्यक्तित्व पनि हुन् । संस्थाको आन्तरिक मामिलामा राम्रो दख्खल राख्ने सिम्खडाले विधान समितिको सह–संयोजकको भूमिकामा रही वर्तमान विधान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

एनआरएनएको नयाँ नेतृत्वका लागि २१ र २२ मार्चमा निर्वाचन हुँदैछ।