अफगानिस्तानमा शान्ति स्थापनार्थ कतार प्रयासरत

अफगानिस्तानमा शान्ति स्थापनार्थ कतार प्रयासरत

काठमाडौं। कतार सरकारले अफगानिस्तानमा शान्ति स्थापनार्थ पहल गरिरहेको छ। गत वर्षको अगस्टमा तालिवानले अफगानिस्तानमा शक्ति संघर्ष गर्दै राजधानीलगायत सबै शहर कब्जामा लिएपछि तनाव सिर्जना भएको थियो।

लामो समयदेखि नेटो सेनाको सुरक्षा घेरामा रहेको अफगानिस्तानमा तालिवानले हरेक वर्ष विदेशी सेनासँग लड्ने योजना सार्वजनिक गर्ने गरेको थियो। कतारले गत १८ अगस्टदेखि ६ मार्चसम्म अफगानिस्तानबाट ७५ हजार बढीको उद्धार गरेको छ। केही समयअघि अमेरिकाले आफ्नो सेना फिर्ता लगेसँगै तालिवानले सिङ्गो अफगानिस्तान कब्जामा लिन सफल भएको थियो।

तालिवानी कब्जासँगै रणभूमि बनेको अफगानिस्तानमा शान्ति स्थापना गर्न कतार सरकारले सरोकारवाला पक्षलाई कतारमै सुरक्षितरूपमा राखि वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रेरित गरेको थियो। तालिवानले कब्जामा लिएसँगै अफगानिस्तानमा शरिया कानून लागू गर्ने घोषणा गरेपछि महिलालाई घरबाहिर निस्किनै मुस्किल हुने विषय विश्वव्यापी रूपमा उठिरहेको छ। यसबाहेक तालिवानको सत्ता कब्जापछि मुलुक छोड्न चाहनेहरूको ठूलो भिड देखियो। अन्य देशहरूले अफगानिस्तानमा रहेका आफ्ना कुटनीतिक निकाय बन्द गरेर आफ्ना नागरिक तथा कर्मचारीको उद्धार गरे।

अफगानिस्तानमा रहेका विदेशी नागरिक तथा अफगानी नागरिकलाई राहत तथा उद्धारमा विश्वले कतार एयरवेजको सहायता प्राप्त गर्यो । कतार एयरवेजले गत वर्ष १८ अगस्ट २०२१ देखि ६ फेब्रुअरी २०२२ सम्म ७५ हजारभन्दा बढीलाई विभिन्न उडानमार्फत उद्धार गरेको छ। तीमध्ये प्रायः अफगानी विद्यार्थी, शिक्षक, अधिकारकर्मी, वकिल, कलाकारलगायत छन्। विदेशी नागरिकमध्ये नेपाली नागरिकको समेत कतार सरकारले उद्धार गरी कतारमै आश्रय प्रदान गरी नेपाल पठाएको थियो।

कतार सरकारले अफगानिस्तानबाट बाहिर जान चाहनेहरूको उद्धार मात्र गरेन, उनीहरूका लागि बस्ने खाने व्यवस्था समेत गर्यो, उपचारको आवश्यकता हुनेहरूलाई निःशुल्क उपचारको व्यवस्था गयो। स्वास्थ्यका कारणले विशेष आवश्यकता हेरचाह गर्नुपर्नेहरूका लागि ह्विलचेयर र विशेष वासस्थानको व्यवस्था कतार सरकारले गरिरहेको छ। उद्धारकै क्रममा परिवारविहीन दुई सय आठ जना बालबालिका कतार पुगेका थिए । जसलाई कतार फाउन्डेसनले युनिसेफसँगको सहकार्यमा आश्रय तथा शिक्षा तथा स्वास्थ्यका सबै जिम्मेवारी पूरा गरिरहेको छ।

विभिन्न क्षेत्रमा शिक्षा लिन चाहने अफगानी विद्यार्थीलाई कलेज तथा विद्यालयमा पढाइरहेको छ। तालिवानी आक्रमणपछि अफगानिस्तानमा संयुक्त राज्य अमेरिकालगायत पश्चिमा राज्यहरू प्रवेश गर्न सक्ने अवस्था रहेन जसले गर्दा कतारी सहयोगमा ती देशहरूले आफ्ना नागरिकको सुरक्षा गरेको थियो। त्यसबेला अमेरिका र कतारबीच एउटा सहमतिमा हस्ताक्षर नै भयो जसले कतारलाई अफगानिस्तानको संरक्षक शक्तिको रूपमा खडा गर्यो । तालिवानी आक्रमणका कारण क्षतविक्षत भएको काबुलस्थित हामिद कारजाई विमानस्थल कतार सरकारले नौ दिनमै मर्मत गरी पुनः सञ्चालनमा ल्याएको थियो।

यसैगरी, कतार सरकारले तालीवानीसँग सम्बन्ध सुधार गरी अहिले पनि हामिद कारजाई विमानस्थलमा अन्य देशका विमान अवतरण गर्न सहकार्य गर्ने गरेको छ । नेपाल सरकारले केही समय अगाडि कतार सरकारकै सहयोगमा अफगानिस्तानमा राहत पुर्याउन सफल भएको थियो। कोभिड–१९ महामारीकै बीचमा अफगानिस्तानमा भिसा संघर्ष भएका कारणले मानवीय सहायताको महसुस गरी कतार सरकारले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरी कतार एयरवेजमार्फत राहत सामग्री पुरर्याएको थियो।