एनआरएनएको ‘थ्री आर प्रोजेक्ट’ सकियो, झण्डै २८ हजार श्रमिक प्रत्यक्ष लाभान्वित

एनआरएनएको ‘थ्री आर प्रोजेक्ट’ सकियो, झण्डै २८ हजार श्रमिक प्रत्यक्ष लाभान्वित मलेसियाबाट उद्धार गरिएका धिरेन्द्र ठाकुर

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरेको ‘थ्री आर’ अर्थात्, ‘सहायता, स्वदेश फिर्ता र पुनःस्थापना’ प्रोजेक्टमार्फत झण्डै २८ हजार श्रमिकले प्रत्यक्ष लाभ लिएका छन्।

संघ अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागले अन्तर्राष्ट्रिय दातृ निकायसँगको सहकार्यमा विदेशमा अलपत्र नेपालीका लागि चलाएको यो कार्यक्रमार्फत २७ हजार ९५६ जना श्रमिक लाभान्वित भएका हुन्।

संघले अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलो) को १० करोड आर्थिक सहयोगमा यो परियोजना सञ्चालन गरेको थियो। सन् २०२० को अगष्टदेखि सुरु भएको परियोजना २०२२ को फेब्रुअरीसम्म चल्यो।

कार्यक्रमका संयोजक समेत रहेका संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार यस परियोजना अवधिभर २८ हजार ५५७ नेपाली सूचीकृत भएका थिए ।तीमध्ये २७ हजार ९५६ जनालाई सहयोग उपलब्ध गराइएको हो।

यो कार्यक्रममार्फत खाना तथा बासको व्यवस्था, घर फिर्तीका लागि आंशिक हवाई टिकट, कानूनी साहयता, पीसीआर परीक्षण, मानसिक स्वास्थ्य परामर्शमा सहयोग पुर्‍याइएको डा. केसीले बताए।

जसअनुसार १२ हजार ५१७ जनालाई मानसिक परामर्श सेवा उपलब्ध गराइएको छ। यस्तै विभिन्न कारणले कागजातविहीन भएका ५ हजार २५० श्रमिकलाई डकुमेन्टेसनमा सहयोग पुर्‍याइएको छ। यसैगरी ३ हजार ६९४ जनालाई खाना र बस्नको व्यवस्था गरिएको छ।

यस्तै कार्यक्रमले ५३१ जनालाई कानूनी सायताले सघाएको छ। समस्यामा परेका नेपाली श्रमिकमध्ये घर फिर्तीका लागि ७४९ जनालाई पीसीआर तथा ९८७ जनालाई आंशिक हवाइ टिकटको व्यवस्था गरिएको संघले जनाएको छ।

यो अवधिमा संघले विभिन्न देशमा कैदी जीवन बिताइरहेका २३४ जना नेपालीलाई जेलमुक्त गराएर स्वदेश फिर्ता ल्याउन सफल भएको छ। दूतावासको समन्वयमा जरिवाना वापतको रकम तिरेर उनीहरुलाई जेलमुक्त गरिएको संघले जनाएको छ।

त्यसैगरी कोभिड कारण रोजगारी गुमाएका २५५ नेपालीलाई पुनः काम दिलाइएको छ । त्यस्तै अलपत्र परेका १ हजार ४३५ जनालाई सम्बन्धित देशको सुरक्षित सेल्टरसम्म पुर्याउन यातयात खर्च उपलब्ध गराइएको छ ।त्यस्तै विदेशीबाट काठमाडौंसम्म उद्धार गरी ल्याइएका १ हजार २७७ नेपालीलाई आ–आफ्नो घरसम्म जानका लागि यातायात खर्च उपलब्ध गराइएको छ। यस्तै १ सय ७४ जना श्रमिकलाई काठमाडौमा होटल क्वारेटिनको ब्यवस्था गरिएको बताइएको छ।

देश अनुसार यो कार्यक्रममार्फत साउदी अरेवियामा ७ हजार ६५६, कतारमा ६ हजार ९८५,मलेसियामा ४ हजार १७०, यूएईमा ३ हजार ४६५, कुवेतमा ९०, ओमनमा ३४, बहराइनमा ३३, कम्बोडियामा २२, र रसियामा २ जनाले सहयोग पाएको परियोजना प्रमुख सुजता शर्माले जानकारी दिइन्।

यो कार्यक्रम अन्तर्गत नै रसियाबाट नेपाली श्रमिक महिला र उनको दुधे बालिका तथा यूएईबाट जुम्ल्याहा दुधे बालिका र उनकी आमालाई उद्धार गरिएको थियो।

खाडी र मलेसियामा मात्र नभइ अवैध रुपमा कामको सिलसिलामा कम्बोडियामा पुगेर समस्यामा परेका २२ जना नेपाली युवालाई समेत यही कार्यक्रममार्फत तत्काल राहत प्रदान तथा उद्दार गरी नेपाल फर्काइएको थियो

एनआरएनए र दूतावासको सम्बन्धमा प्रगाढता

यो कार्यक्रम लागू भएपछि एनआरएनए र नेपाली दूतावासबीचको सम्बन्धमा प्रगाढता आउनुका साथै सहकार्य पनि विगतभन्दा धेरै राम्रो भएको बताइएको छ ।

मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डेले एनआरएनएसँगको सहकार्य विगतमा भन्दा धेरै राम्रो भएको बताए। ‘कतिपय दूतावासको कर्मचारीहरु पुग्न नसक्ने ठाउँमा एनआरएनएको साथीहरुले राहत कार्यक्रममा सहयोग गर्नुभयो, घर फर्किनेलाई टिकट दिनुभयो, कानुनी सहयोग पनि प्रदान गर्नुभयो, कोभिडको समयमा एनआरएनएले धेरै राम्रो गर्‍यो,’ राजदूत पाण्डेको भनाइ छ ।

नेपाली दूतावास साउदी अरवका कार्यबाहक राजदूत दिलिप पौडेल, नेपाली दूतावास ओमानका द्वितिय सचिव सिमेश थापा, साउदी अरवका कार्यबाहक महावाणिज्यदूत शत्रुध्वन पाखरेल, नेपाली दूतावास मलेसियाका द्वितिय सचिव प्रेम बुडथापाले एनआरएनएसँगको सहकार्यमा दूतावासले धेरै काम गर्न सफल भएको बताउँदै एनआरएनएले उपलब्ध गराएको सहयोगले धेरै नेपाली श्रमिकले लाभ लिएको बताए ।

यो कार्यक्रमबाट महिला, युवा, विशेष आवश्यकता भएका ब्यक्ति, विरामी तथा अन्य समस्यामा परेका नेपाली श्रमिकहरुले प्रत्यक्ष रुपमा राहत तथा उद्दार सहयोग प्राप्त गरेका छन्।

निःशुल्क स्वास्थ्य शिविर, सचेतना कार्यक्रमबाट हजारौ लाभान्वित

एनआरएनएले राहत तथा घरफिर्ती कार्यक्रम अन्तर्गत साउदी अरव, ओमान, कुवेत र बहराइनमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दा हजारौ नेपाली श्रमिकहरुले लाभ लिएका छन्। साउदी अरवमा नेपाली श्रमिकहरुका लागि जनचेतना जगाउनका लागि श्रमिक जनचेतना कार्यक्रम तथा दूतावासलाई सहयोग पु¥याउन साउदी अरवको जेद्धा र रियादमा आउट रिच क्याम्प पनि पटक पटक सञ्चालन गरिएको जनाइएको छ।

श्रमिकहरुका लागि सहयोग पुर्‍याउनका लागि नेपाली दूतावास कतारमा एनआरएनएले हेल्प डेक्स नै संचालनमा ल्याएर दूतावासमा समस्या लिएर आउने श्रमिकहरुका लागि सहयोग तथा परामर्श प्रदान गरेको छ।

संघले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई तत्काल राहत प्रदान गर्न तथा उद्दारका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरुसँग समन्वय गरी सञ्चालन गरेको पहिलो कार्यक्रममार्फत नै छोटो समयमा धेरै नेपाली श्रमिकहरुलाई राहत तथा उद्दार गर्न सफल भएको छ।

एनआरएनएका उपाध्यक्ष डा. बद्री केसीसहित स्वंयम्सेवकसँग मलेसियाबाट उद्धार गरि ल्याइएका श्रमिक

एनआरएनएले कुशलतापूर्वक र सफलतापूर्वक राहत तथा उद्दार कार्यक्रम गरेकाले नै कोही पनि नेपाली विदेशीभूमिमा भोकै तथा समस्यामा परेर बस्नु नपरेको संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा बद्री केसीको भनाइ छ।

कार्यक्रम सम्पन्न गर्दै गर्दा उपाध्यक्ष केसीले भने–‘आजको दिनमा यो कार्यक्रमका कारण एकजना पनि व्यक्तिले मेरो जागिर गुम्यो, मेरो टिकट छैन, म घर जान पाइन भनेर विदेशी भूमिमा फस्नु परेन। एकजनाले पनि मैले खान पाइन भनेर सडकमा सडकमा सुत्नुपरेको अवस्था छैन।’

परियोजनालाई असफल बनाउन खोज्ने लज्जित

एनआरएनएको यो कार्यक्रम लागू हुन नदिन र सफल बन्न नदिन एनआरएनभित्रबाट नै अफवाह फैलाउनेहरु अहिले यो कार्यक्रम सफलरुपमा सम्पन्न हुँदा आफै लज्जित बनेका छन्।

विदेशमा समस्यामा परेका २८ हजार नेपालीको आर्शिवाद र उनीहरुमा देखिएको खुशीले विरोध केवल विरोधका लागि मात्र रहेछ भन्ने प्रष्ट भएको छ। ‘यो कार्यक्रमबाट नेपाली श्रमिकलाई सहयोग गर्न पाउँदा जिउँदै स्वर्ग पुगेको भान भएको छ’ एनआरएनए मानार्थ सदस्य राजु सैयद बताउँछन्।

यस्तै उपाध्यक्ष डा. केसी भन्छन्–‘विमानस्थलमा धुरुधुरु रुदै एनआरएनएलाई आशिर्वाद दिएको हेर्नुहोस् अनि यो काम ठिक थियो कि थिएन भनेर भन्नुहोस्, विरोधको लागि विरोध होइन त्यस्ता कार्यक्रम नभएको भए विदेशमा नेपालीहरुको के दुर्दशा हुन्थ्यो म सोच्न अनुरोध गर्दछु।’

एनआरएनए आइसीसी अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, प्रवत्ता डिबी क्षेत्री, कार्यक्रम लागू भएका एनसीसीका अध्यक्षहरु तथा निवर्तमान अध्यक्षले एनआरएनएको इतिहासमा नै अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा उदाहरणीय काम भएको बताए।