सदस्यको शुल्क तत्काल केन्द्रमा पठाउन एनआरएनए अमेरिकाका पदाधिकारीको आग्रह

सदस्यको शुल्क तत्काल केन्द्रमा पठाउन एनआरएनए अमेरिकाका पदाधिकारीको आग्रह

वासिंटन डिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्णजीवी पन्तसहित आठ पदाधिकारीले सदस्यको शुल्क तत्काल केन्द्रमा पठाउन आग्रह गरेका छन्।

पन्तसहित उपाध्यक्ष विकाश उप्रेती, महिला उपाध्यक्ष दिक्षा बस्नेत, महिला सचिव सुनिता सापकोटा, बोर्ड अफ डाईरेक्टर आशीष संग्रौला, शान्ती वाग्ले, ज्ञानेन्द्र गुरुङ र किरण बस्नेतले सदस्यता शुल्क तुरुन्तै केन्द्रमा पठाउन आग्रह गरेका हुन्।

एनसीसी अमेरिकाले सदस्यको शुल्क वापात पठाउनु पर्ने रकम केन्द्रमा पठाएको छैन। सदस्यबाट पैसा उठाएर केन्द्रमा भुक्तानी नगरेपछि उनीहरुले विरोध जनाएका हुन्।

यता एनआरएनए आइसीसीले सदस्यता शुल्क नबुझाएमा खारेज गरिदिने चेतावनी दिएको छ। बुधबार बसेको ८२ औं बैठकले पञ्जिकृत सदस्यता शुल्क नतिर्ने अमेरिकासहित बेलायत, अष्ट्रेलिया, जापान र क्यानाडालाई ६ मार्चसम्म अन्तिम अवसर दिएको छ।

यो अवधिमा शुल्क भुक्तानी नगरेमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरुको मान्यता स्वतः समाप्त हुने र नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गर्ने आइसीसीको तयारी छ।

अमेरिकाको कार्यसमितिको आकस्मिक बैठकमा रकम तोकिएको समयमा बुझाउनुपर्ने स्पष्ट विचार राखेको बताउँदै यसलाई तोडमोड गरेर आइसीसीलाई बुझाउने रकम निकासा नगरिएमा आफूहरुको असहमती रहने उनीहरुको भनाइ छ।

आठ जनाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एनआरएनए अमेरिकाको आफ्नै साख झर्ने काम, आइसिसीसँगको सम्बन्ध र आबद्धतामा आँच आउने क्रियाकलाप जसले सँस्था र समाज विभाजनसम्म हुन सक्ने पूर्वानुमान गर्न सकिन्छ यदी यसो भएमा एनआरएनए अमेरिकाले जिम्मेवारी लिनुपर्ने हुन्छ।’

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘आइसीले एनआरएनए अमेरिकासँगको आफ्नो आबद्धता खारेज गर्नेसम्मको पत्र काटी सकेको अवस्थामा एनआरएनए अमेरिकाको आफ्नै विधानको धारा १८, उपधारा ग (१) मा प्रत्येक आजीवन सदस्य र साधारण सदस्यको ५ डलर आइसीसीलाई बुझाउन पर्ने स्पष्ट किटान गरिएको छ।’