पत्रकार महासंघका विदेशस्थित शाखाद्धारा पत्रकार पाण्डेको रिहाइको माग

पत्रकार महासंघका विदेशस्थित शाखाद्धारा पत्रकार पाण्डेको रिहाइको माग

काठामाडौं। नेपाल पत्रकार महासंघका विदेशस्थित शाखाले संयुक्त अरब इमिरेट्स (यूएई) को जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गरेका छन्।

महासंघका विभिन्न शाखाले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर पाण्डेलाई आबुधावीस्थित नेपाली दूतावासले नै जेलमा पुर्‍याएको भन्दै भर्त्सना गरेका छन्।नेपालमा रहँदा सामाजिक सञ्जालमा व्यक्त गरेको विचारलाई लिएर नेपाली दूतावासले पाण्डेविरुद्ध मुद्धा दर्ता गराएको आरोप महासंघको छ।

बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरूले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भरमा विदेशी भूमिमा एक नेपाली पत्रकारलाई जेल पठाइनु आपत्तिजनक छ। जसबाट अभिव्यक्ति स्वतन्त्रताको सर्वमान्य अधिकारमाथि सिधा प्रहार भएकोमा हामी कडा भर्त्सना गर्दछौं।’

पाण्डेलाई आबुधावी अदालतले १ मार्चमा साइवर अपराधको मुद्दामा ३ महिनाको जेल सजाय, २० हजार दिराम जरिवानासहित देश निकालाको फैसला सुनाएको थियो।

अर्घाखाँचीका पाण्डे यूएईको आबुधाबीमा कार्यरत थिए। उनी यूएईमा रोजागारीसँगै नेपाली पत्रकारितामा समेत संग्लन थिए। उनले त्यहाँबाट उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्थे।

विज्ञप्तिमा पाण्डेलाई तत्काल रिहा गराउन तथा उनीमाथि न्यायोचित ढंगले लगाइएको साइवर अपराधको मुद्धा फिर्ता गराइ सजायमुक्त गराउनतर्फ आवश्यक पहल गर्न नेपाल सरकार र आबुधाबीस्थित नेपाली दूतावाससमक्ष माग गरिएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्र र श्रमजिवी पत्रकारहरुका पक्षधर विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ–संगठनहरुलाई पनि पत्रकार पाण्डेको रिहाइ तथा मुद्धा फिर्ताको लागि सम्बन्धित निकायहरुसम्म आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सहयोग पुर्‍याउन अपिल गरिएको छ।