कतार : अवैधानिक हैसियतका आप्रवासी श्रमिकलाई यथासक्य चाँडो कानूनी दायरामा आउन आग्रह

कतार : अवैधानिक हैसियतका आप्रवासी श्रमिकलाई यथासक्य चाँडो कानूनी दायरामा आउन आग्रह

दोहा। कतारले अवैधानिक रुपमा बसिरहेका आप्रवासी श्रमिकलाई यथासक्य चाँडो कानूनी दायरामा आउन आग्रह गरेको छ।

कतार सरकारले अघिल्लो वर्षको १० अक्टोबरदेखि गैरकानूनी हैसियतका कामदारलाई बिना कैद र बिना जरिवानासहित स्वदेश फर्किन आममाफीको व्यवस्था लागू गरेको थियो। यो अवसरको समयअवधि ३१ मार्चमा सकिदैछ।

स्थानीय सञ्चारमाध्यम कतार ट्रिब्यूनका अनुसार ग्रेस अवधि सकिन लागेपछि गृह मन्त्रालयको खोज तथा अनुगमन विभाग र एकीकृत सेवा विभागले गैरकानूनी हैसियतमा रहेका श्रमिकलाई आफ्नो ‘स्टाट्स’ सच्याउन आग्रह गरेको हो। विभागले यथासक्य चाँडो सो अवस्था सच्याउन भन्दै अन्तिम समयमा हतार नगर्न सुझाएको छ।

कतारको आवासीय अनुमति पत्र (कतार आइडी) म्याद सकिएका, वर्क परमिट बिना काम गरिरहेका र पारवारिक भिसाको नियम उल्लघंन गरेका आप्रवासी श्रमिकलाई आममाफीको व्यवस्था गरिएको छ। २०१५ को कानून नं २१ को ‘मेलमिलाप’ प्रावधान अनुसार यस्तो व्यवस्था गरिएको थियो।

आममाफीको अवसर सुरु भएदेखि हालसम्म ८ हजार २२७ जनाले ‘खोज र फलो अप विभाग’मा माफीको लागि आवेदन दिएर देश छाडेको बताइएको छ।यस्तै एकीकृत सेवा विभागमा परेका २८ हजार ४७६ आवेदनमध्ये ६ हजारभन्दा बढीलाई कानूनी नियमको दायरामा ल्याइएको छ। यसैगरी १४ हजारभन्दा बढी आप्रवासीले आममाफीबाट लाभान्वित भएका छन्।

विभागको मुख्यालयमासञ्चारकर्मी र समुदायका अगुवासँग कुरा गर्दै खोज तथा अनुगमन विभागका क्याप्टेन कमल ताहिर अल–तैरी र एकीकृत सेवा विभागका क्याप्टेन मोहम्मद अली अल–रसिदले कानून उल्लंघन गरेका आप्रवासीलाई यस ग्रेस अवधिबाट फाइदा लिन आग्रह गरेका छन्।

सो क्रममा उनीहरुले यस उद्देश्यका लागि आफ्ना कागजात देखाएमा पक्राउ नगर्ने बताएका छन्। त्यस्तै, उनीहरूले ग्रेस अवधिका लाभग्राहीलाई देशभित्र रहेको अवस्थामा कानूनी हैसियत सच्याउन र देशभित्र रहेर सच्याउन नसकेमा देश छाडेर जानका लागि समेत मन्त्रालयले सबै सुविधा उपलब्ध गराउने बताए।

यसरी कानून उल्लङ्घन गरेकाहरूको कानूनी स्थिति सच्याउनको लागि दिएको अवसरले उनीहरूलाई सक्षम अधिकारीको लागि मान्यता प्राप्त नियमहरूअनुसार रोजगारदाता परिवर्तन गर्न अनुमति दिने, र उनीहरूलाई लगाइएको जरिवाना रकमबाट समेत छुट दिइने बताइएको छ।

देशभित्रै एक रोजगारदाताबाट अर्कोमा स्थानान्तरण गरेर आफ्नो उल्लङ्घनको स्थिति सच्याउन चाहनेले उम्म सुलाल, उम्म सुनाइम, मुसाइमिर, अल वक्रा र अल रायन मन्त्रालयका यी पाँचवटा सेवा केन्द्रहरूमा सम्पर्क गर्न सक्ने बताएका छन्।

त्यस्तै, हाल कायम रहेको रोजगारदाता अन्तर्गत आफ्नो बसोबास, जारी र नवीकरणको लागि मन्त्रालयले १२ स्थानमा सेवाकेन्द्रहरु तोकेको छ। ती सेवाकेन्द्रहरु अल शामल, अल खोर, अल धाएन, उम्म सलाल, पर्ल कतार, ओनाइजा, सौक वाकिफ, रेयान, उम्म सुनाइम, शाहनिया, मेसाइमिर र वक्राहमा रहेका छन्। यी सेवा केन्द्रहरू आइतबारदेखि बिहीबार दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म खुला बताइएको छ।