कुल आचार्य समूहका उम्मेदवारलाई ‘टिम रवीना’ मा ल्याएर चुनाव लड्छौँ : विनय अधिकारी

कुल आचार्य समूहका उम्मेदवारलाई ‘टिम रवीना’ मा ल्याएर चुनाव लड्छौँ : विनय अधिकारी फाइल फोटो

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि ‘टिम रवीना’बाट महासचिव पदका प्रत्यासी रहेका विनय अधिकारीले कुल आचार्य समूहका प्राय : उम्मेदवारहरु आफ्नो टिमबाट चुनाव लड्ने दावी गरेका छन्।

बिहिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले आचार्य समूहका उम्मेदवारलाई पनि समावेश गरेर आफूहरु चुनाव लड्ने तयारीमा जुटेको बताएका हुन्।

‘केही व्यक्ति गैरआवासीय नेपालीको सपनामा आगो लगाउन थालेका छन्। आफैले (संघभित्रै) सल्टाउने सक्ने समस्यालाई ठूलो बनाए। विवाद छन् भने विधानसम्मत समाधान खोज्नु पर्दथ्यो,’ अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘संस्थालाई बन्दी बनाउने अधिकार कसैलाई पनि छैन। अब चुनाव गर्नैपर्छ। रवीना जीकै नेतृत्वमा अर्काे पक्ष (कुल समूह) का साथीहरु पनि चुनावमा आउनुहुन्छ। हामीले त्यसको लागि गृहकार्य गरिसकेका छौँ।’

अधिकारीले अनावश्यक रुपमा संस्थामा विवाद बढाउने काम तत्काल बन्द गर्न चुनौती समेत दिए।

संघको निर्वाचन आगामी २१ र २२ मार्चमा हुँदैछ। अध्यक्षका प्रत्यासी कुल आचार्यको टिम भने चुनावमा भाग नलिने बताउँदै आएको छ। अधिकारीले भने आफ्नो टिम कुनै पनि हालतमा चुनाव लड्ने बताए। ‘हामी चुनावमा नजाने भन्ने त कुरै छैन। चुनावको सबै तयारीमा जुटिसकेका छौँ। प्रतिनिधिहरुलाई दुविधा नहोस् भनेर नै हामीले आज पत्रकार सम्मेलनको आयोजना गरेका हौँ,’ अधिकारी भने।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकारी

कुल आचार्य चुनावमा भाग नलिएपनि संस्थालाई निकास चाहाने उनी पक्षका उम्मेदवारहरु आफ्नो टिममा सामेल भएर चुनाव लड्ने अधिकारीको भनाइ थियो। अधिकारीले थपे, ‘तपाईँ ढुक्क हुनुहोस्। उहाँहरु पनि चुनावमा आउनुहुन्छ।’

पहिलो पटक महिला अध्यक्ष तथा युवा महासचिव निर्वाचित गरी नयाँ पुस्तालाई नेतृत्व सम्हाल्ने अवसर दिन गैरआवासीय नेपालीसँग अधिकारीको आग्रह थियो। चुनावी नतिजा जस्तो आएपनि त्यसलाई सहर्ष स्वीकार्ने उनको भनाइ थियो। ‘चुनाव हो हो, हार जीत जे पनि होला । भोटमा तलमाथि भयो भने पनि जितेको नेतृत्वलाई हामी सहयोग गर्नेर्छौँ,’ अधिकारीले भने।

निर्वाचनलाई स्वच्छ र पारदर्शि बनाउन निर्वाचन समितिले निष्पक्ष भएर काम गर्नुपर्नेमा उनको जोड दिए। पत्रकार सम्मेलनमा अधिकारी केही एनसीसीले पंजीकृत सदस्यको पैसा केन्द्रमा नपठाएको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले भने, ‘पंजीकृत सदस्यहरुबाट पैसा लिएर होल्ड गर्ने अधिकार कुनै पनि एनसीसीलाई छैन। तत्काल केन्द्रमा रकम दाखिला गर्न आग्रह गर्दछु।’

उनले चुनावी नतिजा आफ्नो पोल्टामा परे एनआरएनए भित्र हुने विवादलाई स्थायी रुपमा समाधान गर्न प्रत्यक्ष निर्वाचन प्रणाली लागू गरिने योजना समेत सुनाए।

बिहिवार आयोजित पत्रकार सम्मेलनपछि सामूहिक फोटो खिचाउँदै