आचार्य समूहतर्फ व्यंग्य गर्दै रवीनाले भनिन्– चुनावसँग डराउने ‘फेसबुके’ उम्मेदवार

आचार्य समूहतर्फ व्यंग्य गर्दै रवीनाले भनिन्– चुनावसँग डराउने ‘फेसबुके’ उम्मेदवार बिहिवार आयोजित पत्रकार सम्मेलनपछि सामूहिक फोटो खिचाउँदै

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि नेतृत्वकी प्रत्यासी रवीना थापाले संघको चुनाव निर्धारित मितिमै हुनुपर्नेमा जोड दिएकी छिन।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै थापाले संघमा देखिएको अहिलेको गतिरोधलाई सहज निकास दिन चुनाव नै अन्तिम विकल्प भएको बताइन्।

राजनीतिक पार्टी र सरकारी हस्तक्षेपका कारण संघ अहिले जटिल अवस्थामा पुगेको उनको भनाइ थियाे।

‘संघको निर्वाचन गत अक्टोबरमै हुनुपर्दथ्यो। तर, दुर्भाग्य केही व्यक्तिले नेपालका राजनैतिक दलको आडमा ‘पावर स्वअप’ गर्दा निर्वाचन विथोलियो। यो संस्था अहिले अत्यन्तै धरापमा पुगेको छ। अब चुनाव गरेर संस्थालाई निकास दिनु नै अन्तिम विकल्प हो,’ पत्रकार सम्मेलनमा थापाले भनिन्।

समयमै निर्वाचन हुन नसक्दा नेपालमा संघद्धारा हुने मानवीय परोपकारी काम रोकिएको उनको दुखेसो थियो। ‘एक एनसीसी एक काम भन्ने हाम्रो नारा नै हो। एनसीसीका अध्यक्ष ज्युहरुलाई केन्द्रको तनावले गर्दा काम गर्ने वातावारण छैन। सहयोगी दाताले पनि केन्द्रको विवादका कारण सहयोग गर्न चाहिरहेका छैनन्,’ थापाले भनिन्, ‘दुई/चार जनाको दम्भका कारण अहिले यसको घाटा नेपाल सरकार, सर्वसाधरण जनता, गैरआवासीय नेपाली सबैलाई भएको छ।’ केन्द्रकै विवादले गर्दा दश अर्वको फण्ड रोकिएको उनले बताइन्।

पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए नेतृत्वकी प्रत्यासी रवीना थापा

एनआरएनए पवित्र सामाजिक संस्था भएकोले यसको नेतृत्वमा आउन तछाडमछाड गर्न नहुने उनको तर्क थियो। उनले आफू नेतृत्वमा आए संघलाई विवादरहित साझा एनआरएनए बनाउने दावी समेत गरिन्।

थापाले अहिले निर्वाचनको वातावरण तयार भइसकेको बताउँदै उम्मेदवारहरुलाई मनोनयन दर्ता गराउन आव्हान गरिन्। ‘पहिला संस्था बचाउनु पर्छ। संस्था रहेन हामी रहने हो। मेरा पनि कतिपय कुरामा असहमति छन् होला तर, अब मिलेर चुनावमा आउनुको विकल्प छैन,’ थापाले भनिन्। संस्था जोगाउन हाल आफू जस्तो न्युट्रल मान्छेको खाँचो रहेको उनले बताइन्।

उनले चुनाव बहिस्कार गरेर जाने छुट कसैलाई नभएको बताइन्।

‘इनार फोहोर छ भने भित्रै पसरे सफा गर्ने हो। बाहिर यत्तिकै निस्किएर हुँदैन। बाहिर बसेर संस्था बनाउन सकिदैन,’ थापाले चुनावमा सबैलाई सहभागी हुन आग्रह गर्दै भनिन्, ‘अहिले हामी सबैले फेसबुकमा मात्रै उम्मेदवारी घोषणा गरेका छौँ। अब साँच्चिकै उम्मेदवार हुने बेला आएको छ। नेतृत्वका आकांक्षी सबैले मनोनयन दर्ता गर्नुपर्छ। मनोनयन दर्ता गरेपछि मात्रै हामी उम्मेदवार हो। चुनावसँग डराउने ‘फेसबुके’ उम्मेदवारको के अर्थ भयो र ?’