यी हुन् एनआरएनए आइसीसी बैठकका निर्णय (सूचीसहित)

यी हुन् एनआरएनए आइसीसी बैठकका निर्णय (सूचीसहित)

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संरक्षक परिषद्लाई सधन्यावाद विघटन गर्ने निर्णय गरेको छ। संघको बुधवार बसेको ८२ औं केन्द्रीय बैठकले शेष घले प्रमुख रहेको संरक्षक परिषद्लाई सधन्यावाद विघटन गरेको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न बैठकले पञ्जिकृत सदस्यता शुल्क केन्द्रमा नपठाउने बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान र क्यानाडालाई शुल्क बुझाउन अन्तिम मौका दिएको छ। ६ मार्चसम्म शुल्क भुक्तानी नगरेको खण्डमा विधानको दफा १७.७ अनुसार यी एनसीसीहरूको मान्यता स्वतः समाप्त हुने बैठकले निर्णय गरेको छ।

त्यसपछि एनसीसीको नयाँ निर्वाचनका लागि आइसीसीले एक तदर्थ समिति गठन गर्ने संघले जनाएको छ।

‘नयाँ एनसीसीको निर्वाचन गर्नको लागि एक तदर्थ समिति गठन गरिनेछ । संघका अध्यक्ष, महासचिव, क्षेत्रीय संयोजक, सहसंयोजक र क्षेत्रीय महिला संयोजक रहेको एक समितिले तदर्थ समितिको गठनबारे निर्णय गर्नेछ,’ संघका प्रवक्ता डिबी क्षेत्रीद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै, महाधिवेशन प्रतिनिधिको निकासको सुझाव दिन गठित उच्चस्तरीय समितिलाई ३ मार्च साँझ ५ बजेसम्म (मतदाताको अन्तिम नामावाली प्रकाशन गर्नुपूर्व) सर्वसम्मत वा लोकतान्त्रिक पद्धतिअनुसार प्रतिनिधिबारे सुझाव पेश गर्ने अन्तिम अवसर दिने बैठकले निर्णय गरेको छ। ‘यस्तो अवस्था नरहेको खण्डमा आइसीसीको तर्फबाट अध्यक्षले निर्वाचन समितिलाई पेश गरेको प्रतिनिधिहरुबाट निर्वाचन अगाडि बढाइने छ र, उच्चस्तरीय समिति स्वतः विघटन हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता क्षेत्रीका अनुसार निर्वाचन अनुगमन गर्न एक समिति गठन गरिनेछ।

२१ र २२ मार्चमा हुने निर्वाचन र २६ र २७ मार्चमा हुने महाधिवेशन भव्यरुपमा सफल बनाउन प्रवक्ता क्षेत्रीले आग्रह समेत गरेका छन्।