शेष घले नेतृत्वको एनआरएनए संरक्षक परिषद् र उच्चस्तरीय समिति विघटन

शेष घले नेतृत्वको एनआरएनए संरक्षक परिषद् र उच्चस्तरीय समिति विघटन

काठमाडौं। गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को ८२ औं बैठकले संरक्षक परिषद् र विवाद समाधानको लागि गठित उच्चस्तरीय समिति विघटन गरेको छ।

बैठकमा सहभागी एक सदस्यका अनुसार शेष घले नेतृत्वको यी दुवै समिति विहिवारदेखि लागू हुनेगरी विघटन गरिएको हो।

‘बैठकमा सहभागी भोटिङ राइट भएका ७७ जना सदस्यमध्ये सतप्रतिशत बहुमतले संरक्षक परिषद् र उच्चस्तरीय समिति खारेज गर्ने निर्णय गरेको हो। अष्ट्रेलियाबाट एक जना सदस्यबाहेक बाँकी ७६ जना संरक्षक परिषद् र उच्चस्तरीय समिति विघटनको पक्षमा उभिनु भएको थियो,’ ती सदस्यले प्रवास खवरसँग भने।

विधानकाे परिच्छेद ६ को १६ धारा अनुसार संघको ६९ औं बैठकले दुई वर्षको लागि घलेको नेतृत्वमा ५ सदस्यीय संरक्षक परिषद् गरेको थियो। यस्तै दशौं महाधिवेशनमा प्रतिनिधि छनोटमा धाधँली भएको भन्दै विवाद बढेपछि संघको ८१ औं बैठकले त्यसउपर छानवीन गर्न घलेकै नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो। तर, यो समितिले विवाद समाधान गर्नुको सट्टा झन बढाएको आरोप छ।

‘उच्चस्तरीय समितिका संयोजक ज्यु (शेष घले) ले विधि र विधानलाई कुल्चेर सधै एकपक्षीय निर्णय लाद्न खोज्नु भयो। संस्थाको हितभन्दा आफू अनुकुलका मान्छेलाई जिताउन उहाँ सक्रिय हुनुभयो। संस्थालाई नै धरासयी बनाउने खेलमा सक्रिय भएपछि यो समिति भंग गरेका हौं,’ ती सदस्यले भने।

यसअघि घलेले परराष्ट्र मन्त्रालयलाई प्रभावित पार्दै अध्यक्ष कुमार पन्तको कार्यकाल सकिएको भन्दै सम्पूर्ण अधिकार खोस्न खोजेका थिए। तर, घले यो खेलमा उच्च अदालत पाटनले अकुंश लगाइदिएको थियो।

यस्तै बैठकले सदस्यता शुल्क केन्द्रमा नपठाउने बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा र जापान एनसीसीलाई पाँच दिनको अन्तिम मौका दिएको छ। सो अवधिभित्र सदस्यता शुल्क केन्द्रमा नपठाए मान्यता खारेज गरी यी ठाउँहरुमा एनसीसी पुनगर्ठन गर्ने निर्णय गरेको हो।

संघको आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत निर्वाचन हुँदैछ। बुधवारको बैठकमा अध्यक्ष पन्तले अब चुनावको मिति एक सेकेण्ड पनि फेरबदल नहुने बताएका थिए। बैठकले चुनावको लागि एक अनुगमन समिति गठन गर्ने समेत निर्णय गरेको छ।