युक्रेनी सेनामा भर्ती हुँदै नेपाली युवाले भने– अन्तिम सास रहुन्जेलसम्म लड्नेछु

युक्रेनी सेनामा भर्ती हुँदै नेपाली युवाले भने– अन्तिम सास रहुन्जेलसम्म लड्नेछु

काठमाडौं। गत बिहीबारदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ । युद्धका कारण सयौँ मानिसले ज्यान गुमाइसकेका छन्। युद्धको चपेटामा परेको युक्रेनले अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको छ।

केहीदिन अघि मात्र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विदेशीलाई रुसविरुद्धको युद्धमा सामेल हुन सार्वजानिक अपील गरेका थिए। जेलेन्स्कीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै विदेशी नागरिक कानुनी रुपमै युक्रेनको सेनामा सामेल हुन सक्ने बताएका थिए।

यसैबीच एक नेपाली युवा रुसविरुद्ध लड्न युक्रेनको सेनामा सामेल भएका छन्। युक्रेनमै कार्यरत प्रताप बस्नेत नाम गरेका नेपाली युवा युक्रेनको रक्षाको लागि भन्दै त्यहाँको सेनामा भर्ती भएका हुन्।

अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रतापको भिडियो भाइरल भएको छ। सेनामा सामेल हुँदै गर्दा खिचिएको उक्त भिडियोमा उनले युक्रेनले आफूलाई धेरै कुरा दिएको उल्लेख गरेका छन्। उनले युक्रेनको रक्षा गर्नु आफ्नो उत्तरदायित्व भित्र पर्ने भन्दै अन्तिम सास रहुन्जेलसम्म युक्रेनको लागि लड्ने प्रतिवद्धता जनाएका छन्।

यसविषयमा थप बुझ्न प्रवास खबरले गैरआवासीय नेपाली संघ (एनआरएनए) युक्रेनका अध्यक्ष हरि मल्ललाई सम्पर्क गरेको थियो। तर, मल्लले आफूले प्रतापलाई नचिनेको बताए। उनले भने, ‘युद्ध चर्किएपछि मैले पनि तत्कालको लागि युक्रेन छोडेको छु। अहिले म युक्रेनको सीमा नजिकै अर्काे देशमा छु। यो भिडियो मैले मिडियामार्फत हेरेको थिएँ। उहाँलाई मैले चिनेको छैन। तर, म उहाँको बारेमा बुझिरहेको छु।’

यस्तो भनेका छन् प्रतापले

मेरो नाम प्रताप बस्नेत हो र म नेपाली हुँ। म अहिले युक्रेनको भूमिबाट बोल्दैछु। रसियाले यहाँको निर्णयमा हस्तक्षेप गर्ने कुनै अधिकार छैन।

यहाँको अहिलेको अवस्थाले गर्दा म रातभर निदाउन सक्दैन, किनभने यो कुरा मानवता र मानव अधिकारसँग जोडिएको छ। म आफूलाई सुरक्षित महसुस गरेको छैन। तर, मैले युक्रेनको लागि केही राम्रो गर्नु छ। किनभने, मैले यहाँ रोजगारी पाँए । गाँस–बासको युक्रेनबाट प्राप्त गरें। त्यसकारणले यो मेरो उत्तरदायित्व हो।

अहिले युक्रेनलाई मेरो सहयोगको आवश्यकता छ। म यहाँको मिलिटरी फोर्समा जोडिन तयार छु। र, यसमा म गर्व गर्नेछु । मेरो अन्तिम सास रहुन्जेलसम्म युक्रेनको लागि लड्नेछु।

मलाई आफैसँग गर्व लागिरहेको छ किनभने मैले आफै युक्रेनको पक्षमा उभिने निर्णय गरेको हुँ। म सुरक्षा फौजमा जोडिनको लागि मिलिटरी बेस अगाडि उभिएर बोल्दैछु। म यस अर्थमा पनि एकदम गर्व गर्दछु कि मैले सही निर्णय लिएको छु।