एनआरएनएको संरक्षक परिषद्, उच्चस्तरीय समितिसहित सबै उपसमिति खारेज गरिदैं

एनआरएनएको संरक्षक परिषद्, उच्चस्तरीय समितिसहित सबै उपसमिति खारेज गरिदैं

काठमाडौं। गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को ८२ औं बैठक बुधवार बेलुका बस्दैछ। चुनावको मिति नजिकिएसँगै संघले आवश्यक तयारीको लागि केन्द्रीय बैठकको बोलाएको हो।

बैठकमा विशेषगरी महाधिवेशनको विषयमा छलफल हुनेछ। आजैको बैठकले चुनाव अनुगमन समिति पनि गठन गर्ने बताइएको छ। योबाहेक सदस्यता शुल्क केन्द्रमा नपठाउने बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानाडा र जापान एनसीसीलाई के गर्ने ? भन्ने विषयमा पनि बैठकबाट ठोस निर्णय गरिने एनआरएनए उच्च श्रोतले प्रवास खबरलाई जानकारी दियो।

‘महाधिवेशनमा आफू निकटका प्रतिनिधि नपरेको भन्दै सदस्यले तिरेको सदस्यता शुल्कवापतको पैसा केन्द्रमा नपठाउने एनसीसीको विषयमा आजैको वैठकले निर्णायक कदम चाल्नेछ,’ एक उच्च पदाधिकारीले भने।

यस्तै आइसीसीले गठन गरेका सबै समितिहरु आजको बैठकबाट खारेज गरिनेछ। चुनावको मिति नजिकिएपछि केन्द्रीय समितिले गठन गरेका सबै उपसमितिहरु खारेज गर्न लागिएको हो। ‘हामी चुनावको मुखमै छौँ। यसअघि गठन गरिएका सबै समिति आजको बैठकले विघटन गर्नेछ,’ एनआरएनएका एक उच्च पदाधिकारी भन्छन्,‘ बैठकपछि महाधिवेशनको सबै अधिकार निर्वाचन समितिलाई दिइनेछ। हामी (कार्यसमिति) पनि बैठकपछि काम चलाउ हुन्छौँ।’

बैठकले पूर्व अध्यक्ष शेष घले नेतृत्वमा रहेको संरक्षक परिषद्, उनकै नेतृत्वमा प्रतिनिधि मिलाउन गठित उच्चस्तरीय समिति, सल्लाहकार समितिलगायत सबै उपसमिति खारेज गर्न लागेको ती पदाधिकारीको भनाइ छ।

घलेको कार्यशैलीप्रति चरम असन्तुष्टि

पछिल्लो समय प्रमुख संरक्षक घलेप्रति अध्यक्ष कुमार पन्तलगायत संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट रुष्ट छन्। विधान विपरित एक पक्षीय ढंगबाट संस्थामा मनोमानी गरेको भन्दै उनीहरु घलेप्रति रुष्ट बनेको श्रोत बताउँछ।

‘एनआरएन अभियान नै सिध्याउने खेलमा घले ज्यु सक्रिय हुनुभयो। आफू निकटका मान्छे चुनाव हार्ने भएपछि उहाँले संस्थागत मर्यादा समेत पार गर्नुभयो,’ श्रोतको दावी छ, ‘विधि र विधानलाई कुल्चेर आफ्ना मात्रै निर्णय लाद्न थालेपछि संरक्षकको कुनै अर्थ रहेन। ’

घलेले मंगलबार बेलुका मात्रै आफू निकटको गोप्य भेला आयोजना गरेपछि आइसीसीका अधिकांश प्रतिनिधि आक्रोशित बनेका छन्। प्रतिनिधि विवाद मिलाउन घलेलाई जिम्मा दिइएको थियो। तर, विवाद समाधान गर्नुको सट्टा झन बढाएको आरोप उनीमाथि छ।

‘घले ज्यु सधै एकपक्षीय हितमा मात्रै प्रस्तुत हुनुभयो। विवाद झन बढाउनु भयो। उहाँको नैतिकतामाथि नै प्रश्न उठेको छ,’ श्रोतले भन्यो।

संघको आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत निर्वाचन हुँदैछ। आगामी नेतृत्वका लागि अमेरिकाबाट रवीना थापा, रसियाबाट डा.बद्री केसी र बेलायतबाट कुल आचार्य चुनावी मैदानमा उत्रिदैँछन्।