युक्रेनका नेपालीलाई अध्यक्ष पन्तको सान्त्वना– नआत्तिनुहोस्, एनआरएनए साथमा छ

युक्रेनका नेपालीलाई अध्यक्ष पन्तको सान्त्वना– नआत्तिनुहोस्, एनआरएनए साथमा छ फाइल तस्वीर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले द्वन्द्वग्रस्त मुलुक युक्रेनमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन्।

शनिबार आयोजित एक भर्चुअल कार्यक्रममा अध्यक्ष पन्तले युक्रेनमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेका हुन्। भर्चुअल कार्यक्रममा युक्रेनमा रहेका नेपालीहरुलाई सान्त्वना दिँदै अध्यक्ष पन्तले भने, ‘एनआरएनए छँदैछ । नेपाली कहीँ पनि अभिभावकविहिन हुनु पर्दैन। नआत्तिनुहोस् । हामी सहयोगका लागि तयार छौँ।’

संघले विपत परेको बेला संसारका धेरै देशबाट नेपालीको उद्धार गरेको स्मरण गर्दै पन्तले भने, ‘अप्ठेरो परेको बेला हामीले धेरै देशबाट नेपालीको उद्धार गर्दै आएका छौँ । युक्रेनमा रहेका नेपालीलाई पनि सहयोग गर्न हामी प्रतिबद्ध छौैँ।’

युक्रेनबाट नेपालीको उद्धार गर्न संसारभरका गैरआवासीय नेपाली सकारात्मक भएको पन्तले बताए । दूतावाससँग समन्वयमा समस्यामा परेका नेपालीलाई सहयोग गर्ने बताए।

रुसी सेनाले युक्रेनमाथिको आक्रमणलाई तीव्र पारेपछि त्यहाँ रहेको नेपाली सुरक्षित हुन छिमेकी देशतर्फ लागेका छन् । ज्यान जोगाउन अन्य देशतर्फ लागिरहेका नेपालीलाई बोर्डरमै पुगेर एनआरएनएले सहयोग गर्ने उनले बताए।

‘बोर्डर–बोर्डरमा जान पनि हामी तयार छौँ,’ अध्यक्ष पन्तले भने, ‘जसरी पनि युक्रेनमा रहेका नेपालीको उद्धार गर्ने तयारीमा छौं।’

उनले युक्रेनमा रहेका नेपालीलाई आफ्नो समस्या एनआरएनएसमक्ष राख्न पनि आग्रह गरे । ‘कुनै पनि समस्यामा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।’