यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो

यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम हटाइयो

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा अनिवार्य मास्क लगाउनु पर्ने सहितका प्रतिबन्धात्मक नियम हटाइएको हो।

यूएईको आपतकालीन, संकट तथा प्रकोप व्यवस्थापनका लागि राष्ट्रिय प्राधिकरणले शुक्रबार घोषणा गरेअनुसार खुला ठाउँहरूमा यात्रा गर्दा मास्क लगाउनुपर्ने नियमलाई ऐच्छिक बनाइएको हो।

योसँगै यहाँको आर्थिक र पर्यटकीय स्थलमा लगाइएको सामाजिक दूरी सम्बन्धी मापदण्डहरु पनि खारेज गरिएको छ। यद्यपि, बन्द ठाउँमा भने मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ। यी नयाँ नियमहरू २६ फेब्रुअरीदेखि लागू हुनेछ।

त्यस्तै, कोभिडका बिरामीको नजिकको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा बस्नु नपर्ने भएको छ। यसको सट्टा, उनीहरूले पाँच दिनको फरकमा दुईवटा पीसीआर परीक्षण गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

त्यसैगरी, कोभिड संक्रमित व्यक्तिहरूका लागि लगाइएको आइसोलेशन सम्बन्धी मापदण्ड यसभन्दा अघिल्लो घोषणा अनुसार नै जारी रहनेछ। जसअनुसार, धेरै जसो इमिरेट्समा कोभिड–१९ पोजेटिभ भएका व्यक्ति सामान्यतया न्यूनतम दश दिनसम्म आइसोलेशन बस्नुपर्नेछ।

जनस्वास्थ्य र विभिन्न महत्त्वपूर्ण क्षेत्रबीचको सन्तुलन सिर्जना गर्न र दिगो रुपमा लाभ हासिल गर्ने प्रयासलाई समर्थन गर्ने यूएईको रणनीति अनुरूप व्यापक सुधार गरिएको बताइएको छ।

यस सन्दर्भमा प्राधिकरणले प्रत्येक इमिरेट्सहरुलाई देशका महत्त्वपूर्ण क्षेत्र र पेशामा कोभिडसँग सम्बन्धित केसहको लागि क्वारेन्टाइन अवधि र पीसीआर परीक्षणको अवधि निर्धारण गर्न स्वतन्त्रता रहेको बताएको छ।