पत्रकार पाण्डेलाई नफसाइएको दूतावासको दावी, राजदूत भन्छन्– म आफै भेट्न जाँदै छु

पत्रकार पाण्डेलाई नफसाइएको दूतावासको दावी, राजदूत भन्छन्– म आफै भेट्न जाँदै छु

काठमाडौं। यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले पत्रकार उमाकान्त पाण्डेलाई नफसाइएको प्रष्टीकरण दिएका छन्। पाण्डेलाई दूतावासका कर्मचारीले नियतवश फसाएको आरोप लगाइरहेको सन्दर्भमा उनले यस्तो दावी गरे।

रोजगारीको लागि यूएईमा रहेका पाण्डेलाई आबुधाबीस्थित नेपाली दूतावासका कर्मचारीले साइवर मुद्दा लगाउँदै पक्राउ गराएको भन्ने आरोप लागेपछि राजदूत ढकालले यसको खण्डन गरेका हुन्।

‘उहाँको विषयमा अहिलेसम्म हामीलाई केही पनि आधिकारिक जानकारी छैन्। तथ्य नभइ बोल्न मिल्दैन,’ राजदूत ढकालले  आबुधाबीबाट प्रवास खबरसँग भने, ‘भनेका भरमा कसैमाथि आरोप लगाउनु जायज होइन। हामी उहाँलाई सहयोग गर्न खोजिहरेका छौँ।’

अर्घाखाँचीका पाण्डे यूएईको आबुधाबीमा कार्यरत थिए। उनी यूएईमा रोजागारीसँगै नेपाली पत्रकारितामा समेत संग्लन थिए। उनले त्यहाँबाट उज्यालो रेडियो नेटवर्कका लागि रिपोर्टिङ गर्थे।

अघिल्लो हप्ता आबुधाबी प्रहरीले साइवर क्राइम मुद्दामा अनुसन्धान गर्न पाण्डेलाई नियन्त्रणमा लिएको बताइएको छ। नेपालमा रहँदा समाजिक सञ्जालमा पोस्ट गरेको स्टाटसकै आधारमा पाण्डेलाई यूएई प्रहरीले पक्राउ गरेको नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले प्रेस विज्ञप्तिमार्फत जनाएका छन।

परिवारले नेपाली दूतावासकै उजुरीमा यूएई प्रहरीले पत्रकार पाण्डेलाई पक्राउ गरेको महासंघलाई जानकारी गराएको पुरीको भनाइ छ।

घटनाको छानबिन गरी पत्रकार पाण्डेको रिहाइका लागि तत्काल पहल गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र यूएईस्थित नेपाली दूतावासको महासंघले ध्यानाकर्षण समेत गराएको छ।

राजदूत ढकालले भने यस विषयमा दूतावासका कर्मचारीको कुनै संग्लनता नरहेको दावी गरेका हुन्। उनले पाण्डेलाई भेट्न जान आफूले त्यहाँको निकायसँग समय मागेको पनि बताए।

‘हामी संवेदनशील छौं यो विषयमा। यहाँ नेपाल जस्तो सहज छैन्, सबै कुरा सिष्टममा चल्नुपर्दछ। भेट्न जान समय मागेका छौँ। उहाँलाई भेट्न म आफै जाँदैछु,’ ढकालले भने। पाण्डेको विषयलाई लिएर आफू चिन्तित भएको बताउँदै यसमा दूतावासमाथि शंका नगर्न समेत उनले आग्रह गरे।