मार्चभित्रै नेपाल र ओमनबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर हुँदै

मार्चभित्रै नेपाल र ओमनबीच श्रम सम्झौता पत्रमा हस्ताक्षर हुँदै

मस्कट। नेपाल र ओमनबीच श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ। दुई देशबीच छिट्टै श्रम सम्झौता पत्रमा हस्ताक्षर हुने मस्कटस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सोमेश थापाले प्रवास खबरलाई जानकारी दिए।

श्रम सम्झौता (एमओयु)को मस्यौदामा दुवै देशका सम्बन्धित निकायले सहमित जनाइसकेका छन्। ‘श्रम सम्झौता लागि नेपालले पठाएको मस्यौदा ओमन सरकारबाट स्वीकृत भइसकेको छ। यसलाई हामिले नेपाल पठाएका छौँ,’ थापाले भने, ‘दुई देशबीच आउँदो मार्चभित्रमा श्रम सम्झौता पत्रमा हस्ताक्षर हुने अब चाँहि पक्का भइसकेको छ।’

सम्झौताको लागि श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ओमन आउनेगरी तयारी भइरहेको उनले बताए। ‘यस विषयमा श्रममन्त्री ज्युले नेपालबाट विशेष चासो दिइरहनु भएको छ। यसमा हामी (दूतावास) पनि लागिरहेका छौँ,’ कार्यवाहक राजदूत थापाले भने, ‘सम्झौताको लागि श्रममन्त्री स्वयम् ओमन आउनुहुन्छ होला।’

दुई देशबीच अघिल्लो वर्ष नै श्रम सम्झौतामा हस्ताक्षर हुने भनिएको थियो। तर, कोभिडलगायत केही प्राविधिक कारणले सम्झौता हुन ढिलो भएको थापाको भनाइ छ।

नेपाल र ओमनबीच पहिलो पटक श्रम सम्झौता हुँदैछ। तर, सरकारीस्तरमा श्रम सम्झौता नभए पनि नेपाली कामदार रोजगारीका लागि ओमन गइरहेका छन्। अहिले ओमनमा झण्डै २० हजार नेपालीले रोजगारी गर्दै आइरहेका छन्।

रोजगारदाताले नेपाली श्रमिकलाई शुन्यलागतमा लैजानुपर्ने, कार्यस्थलमा सुरक्षाको ग्यारेण्टी, श्रमिकको सुरक्षा, श्रमिकको मानव अधिकार, बीमा, न्यायमा सहज पहुँचलगायतका विषयमा नेपालले उठाएको मागमा ओमन सरकारले सहमति जनाइसकेको छ। यसअघि दुवै देशबीचका प्राविधिक कमिटिबीच काठमाडौं र ओमनमा गरी दुई पटक बैठक बसेको थियो।

यस्तै नेपालले ओमनलाई काठमाडौंमा आफ्नो नियोग सञ्चालन गर्न समेत आग्रह गरेको छ। ‘धेरै नेपाली ओमनमा छन्। सम्झौतापछि यो संख्या अझै बढ्ने देखिन्छ। काठमाडौंमा ओमनको दूतावास खोल्न हाम्रो पहल भइरहेको छ। यो आवश्यकता पनि हो,’ थापाले भने।