मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट

मलेसियामा नेपाली सुरक्षागार्डमाथि निर्घात कुटपिट

क्वालालम्पुर। मलेसियामा एक नेपाली सुरक्षा गार्ड कुटिएका छन्। सपिङ मलको अगाडि मोटरसाइकल पार्क नगर्न भन्दा नेपाली सुरक्षा गार्ड कुटिएका हुन्।

स्थानीय संचारमाध्यमका अनुसार शनिबार पाण्डन क्यापिटल मलको प्रवेशद्वार अगाडि मोटरसाइकल पार्क गर्ने दुईजना व्यक्तिक्तिलाई सो ठाउँमा पार्क नगर्न भनेकै कारणले ४१ वर्षीय ती नेपाली सुरक्षागार्ड कुटाइ खाएका हुन्।

३० वर्ष आसपासका ती पुरुषहरूले आफ्नो मोटरसाइकल पार्क गरेर गार्डलाई बेवास्ता गर्दै आफ्नो व्यवसायतर्फ लागेका थिए। तर, फर्कने क्रममा उनीहरुले गार्डसँग झगडा गरि कुटपिट गरेको अम्पाङजयाका प्रहरी प्रमुख फारौक इशाकले बताएका छन्।

सो घटनाको रेकर्डिङ भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

सो घटनापछि मल व्यवस्थापनले प्रहरीलाई बोलाएको थियो। त्यसपछि ती दुई संदिग्धहरूलाई उनीहरूको बयान रेकर्ड गर्न प्रहरी स्टेशनमा लगिएको फारौकले बताएका छन्।

जानीजानी चोट पुर्‍याएकोमा उनीहरुलाई दण्डसंहिताको धारा ३२३ अन्तर्गत अनुसन्धान भइरहेको बताइएको छ।