ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु

ब्राजिलमा बाढीबाट १४६ जनाको मृत्यु

साओ पाओलो । ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

गएको पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको छ। स्थानीय अधिकारीहरुले दिएको जानकारी अनुसार व्यापक वर्षाका कारण सडकहरू नै खोलामा परिणत भएका छन्।

शनिबार पाँचौ दिन पनि वर्षा जारी छ। यसबाट हजारौँ मानिस प्रभावित बनेका अधिकारीहरूले शनिबार जानकारी दिएका छन्। भारी मात्रामा वर्षा भएको बताइएको छ। सबैभन्दा बढी क्षति पेटोपोलिस सहरमा भएको उद्धारकर्मीहरुले जानकारी गराएका छन्।

शनिबारसम्मा बाढीमा परेर कम्तीमा पनि १९१ जना हराइरहेका छन्। रियो डि जेनेरियोको उत्तरी क्षेत्रमा पनि बाढीले असर गरेको छ।

सन् १९३२ पछिको सबैभन्दा बढी वर्षा भएको छ। वर्षातका कारण यहाँ मानवीयका साथै अन्य भौतिक सम्पत्तिमा पनि क्षति पुगेको बताइएको छ।

बाढी तथा डुबानका कारण करिब दर्जनौँ घर क्षतिग्रस्त भएका र सयौँ जनालाई प्रायजसो विद्यालयहरूमा आश्रय दिइएको छ। विशेषज्ञहरूको भनाइअनुसार जलवायु परिवर्तनको प्रभावले अहिले भारी मात्रामा वर्षा बढीरहेको छ।

सन् २०११ को जनवरीमा भारी वर्षाका कारण यस क्षेत्रमा ९०० भन्दा बढी मानिसहरूको मृत्यु भएको थियो। जसले गर्दा पेट्रोपोलिस र छिमेकी सहरहरू नोभा फ्रिबर्गो र टेरेसोपोलिसलगायतका ठूलो क्षेत्रमा बाढी र पहिरो गएको थियो।

राष्ट्रपति जयर बोलोस्नारोले शुक्रबार सो बाढी प्रभावित क्षेत्रको अवलोकन गरका थिए। उनले सो क्षेत्रमा निकै क्षति पुगेको बताउँदै आफूले आफ्नो जीवनमा बाढीको यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन्।

ब्राजिलका अधिकारीहरुले अरु केही व्यक्ति हराएका बताएका छन्। त्यस्तै सयौँ व्यक्तिलाई उद्धार गरिएको छ। वर्षा जारी नै रहेको पनि अधिकारीहरुले जनाएका छन्।