मलेसियामा ट्रक र बस एकआपसमा ठोक्किँदा नेपाली श्रमिक घाइते

मलेसियामा ट्रक र बस एकआपसमा ठोक्किँदा नेपाली श्रमिक घाइते

पेनाङ । मलेसियाको पेनाङ राज्य स्थित पेराई औद्योगिक क्षेत्र नजिकै तामान नागासरीमा शनिबार साँझ ट्रक र बस एकआपसमा ठोक्किँदा २३ नेपाली कामदारहरु घाइते भएका छन । घाइते भएका २३ जना मध्ये १५ जना श्रमिकलाई तत्काल अस्पताल लगिएको थियो। अन्य आठ सामान्य उपचारपछि होस्टल फर्किएका छन ।

पेराइस्थित सडक किनारमा रहेको पेट्रोलपम्प नजिकैको सडकमै सो सवारी दुर्घटना भएको घटना पश्चात् घाइतेहरुलाइ भेट्न पुगेका प्रवासी समन्वय समिती (पीएनसीसी) मलेसियाका संयोजक मछेन्द्र नाथ चापागाईंले बताएका छन । चापागाईंका अनुसार नेपाली कामदार बोकेको बसलाई बिपरित दिशाबाट आईरहेको ट्रक (लोरी) अनियन्त्रित भई ठक्कर दिएको थियो ।

ड्युटी सकिएपछि ती श्रमिकहरुलाई उनीहरुको निवासतर्फ लैजाँदै गरेको बस दुर्घटना भएको हो। दुर्घटना भएको बस आफ्नो छेउतिरै पल्टिएको थियो । घटना लगत्तै केही सर्वसाधारणहरु घटनास्थलमा पुगेर बसको झ्यालका सिसा तोडेर घाइतेहरुको उद्धार गर्न मद्दत गरेका थिए । त्यसलगत्तै बोलाइएको एम्बुलेन्स र कम्पनीको भ्यानमा राखी घाइतेहरूलाई दुर्घटनास्थलबाट करिब ४ किलोमिटर टाढा सेबेराङ जय अस्पतालमा पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ ।

घटना भएको थाहा भएपछी पेनाङ्गमै रहेका नेपाली राजदुतावास मलेसियाका श्रम सहचारी प्रकाश पन्थी घाइतेहरुसंग भेटघाट र स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए । पन्थीका अनुसार सो सवारी दुर्घटनामा नेपाली कामदार सवार बसलाई लोरीले पुर्ण रुपमा कुल्चिएको भएता पनि बसमा सवार नेपालीहरुमध्ये कसैको मृत्युु भएको छैन । बसम सवार नेपालीहरु माटेल कम्पनीमा कार्यरत रहेका छन ।

उनीहरुको हेरचाहको लागि कम्पनीले अस्पतालमा अन्य कर्मचारीहरू पनि पठाएको बताइएको छ।