एनआरएनए निर्वाचन : बेलायतबाट अवैध रुपमा पठाइएका महाधिवेशन प्रतिनिधि खारेजीको माग

एनआरएनए निर्वाचन : बेलायतबाट अवैध रुपमा पठाइएका महाधिवेशन प्रतिनिधि खारेजीको माग

लण्डन । बेलायतबाट प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्यहरु (निर्वाचित) ले तत्काल केन्द्रको निर्वाचनको माग गरेका छन्।

उनीहरुले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै वैधानिक रुपमा बेलायतबाट सिफारिस भएका प्रतिनिधिहरुलाई मान्यता दिदैं सघको १० औँ महाधिवेशन तथा निर्वाचनको मिति तत्काल घोषणा गर्न आइसीसी समक्ष आग्रह गरेका हुन्।

निर्वाचनको माग गर्ने सदस्यहरुमा दिनेश घिमिरे, राजेन्द्र पुडासैनी, महेश अधिकारी, कोश्लेश्वर ढकाल, भिमलाल भट्टराई, एलएन पाण्डे र समीर खनाल रहेका छन्।

पत्रकार सम्मेलनमा मार्फत एक विज्ञप्ति जारी गर्दै उनीहरुले बेलायतस्थित संघका पञ्जिकृत सदस्यहरुले तिरेको सदस्यता शुल्कमध्ये प्रति सदस्य ५ डलर केन्द्रमा बुझाउनुपर्ने वैधानिक र बाध्यकारी व्यवस्था भएपनि सो रकम अझै संघको खातामा जम्मा नहुँदा व्याजस्वरुप प्राप्त हुने लाखौं रुपैयाँ घाटा भएको प्रति सचेत गराएका छन्।

उनीहरुले आइसीसी सदस्यता शुल्क १ लाख रुपैया सहितको सो रकम संघको खातामा जम्मा गरी जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

उनीहरुले पारदर्शिता कायम गर्दै, देखा परेका असन्तुष्टि र समस्या समाधानका आ–आफ्नो स्थानबाट सहयोग गर्न गराउन बेलायतबासी समस्त गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

विज्ञप्तिको पूर्णपाठ

गत अक्टोबरमै सम्पन्न हुनुपर्ने गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशन तथा निर्वाचन आजसम्म पनि अन्योलग्रस्त छ। संघको विधिअनुसार नै गत जुलाई महिनामै ६४ राष्ट्रिय समन्वय समिति एनसीसीको निर्वाचन सम्पन्न भई ३६ सय महाधिवेशन प्रतिनिधि र १५० भन्दा बढी केन्द्रीय सदस्य समेत छनोट भइसकेको अवस्थामा पनि जारी यो अन्योलले समस्त गैरआवासीय नेपालीमाझ निराशा छाएको छ।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेको निवर्तमान कार्यसमितिले विधान अनुरुप केन्द्रमा सिफारिस गरेका महाधिवेशन प्रतिनिधिहरुको नाम रोक्ने, हटाउने तथा तोडमोड गर्ने लगायतका षड्यन्त्र भइरहेको पाइएको छ। जसप्रति प्रति हाम्रो ध्यानार्कषण भएको छ।

संघको विधान अनुसार ६५ प्रतिशत महाधिवेशन प्रतिनिधिमा पूर्वपदाधिकारीबाट छनोट गर्न पाउने व्यवस्था अनुरुप निवर्तमान कार्यसमितिले सार्वजनिक सूचना जारी १११ जना प्रतिनिधिहरुलाई अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) महाधिवेशन प्रतिनिधिको रुपमा सिफारिस गरिएको थियो। तर, वर्तमान कार्यसमितिले संघको विधान विपरित पूर्वपदाधिकारी समेत नरहेका व्यक्तिलाई समावेश गरी छुट्टै प्रतिनिधि सिफारिस गरेको छ जुन विधान विपरित रहेको स्पष्ट छ।

यसका साथै, संघको विधानअनुसार २५ प्रतिशत महाधिवेशन प्रतिनिधि निर्वाचनमार्फत हुनुपर्ने वैधानिक व्यवस्था रहेको सर्वविदितै छ। एनआरएनए यूकेबाट प्रतिनिधित्व गर्ने २५ प्रतिशत अन्र्तगत ४४ र ६५ प्रतिशतमा विधानत : नआएका थप ३ गरी ४७ जनाको लागि निर्वाचन समितिमा १३७ जनाको उम्मेदवारी परेको यसअघि नै सार्वजनिक भइसकेको छ।

यसअघि नै उम्मेदवारी दर्ता भएकाहरुकोबीचमा सर्वसम्मतमा वा सहमतिमा ४७ जना प्रतिनिधिको चयन गर्न संघको अधिवेशनले तीन सदस्य समिति गठन गरेको थियो। सो समितिमा संघका संस्थापक केन्द्रीय सचिव चिरन्जीवि ढकाल, आइसीसी सदस्यहरु रामशरण सिमखडा र राजेन्द्र पुडासैनी (निर्वाचित) रहनु भएको थियो । निर्वाचन समितिका संयोजक महेन्द्रराज कँडेलको प्रस्तावमा सर्वसम्मतले पारित सो समितिले सर्वसहमतिमा ४७ जनाको नाम संघको केन्द्रीय महाधिवेशनको प्रतिनिधिको लागि सिफारिस गरेको थियो। तर, त्यसमा वर्तमान कार्यसमितिले ६ जना आइसीसी सदस्यसहित सो नामावली सूचीलाई उल्टाउने प्रयास गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

संघको महाधिवेशन र बेलायतस्थित नेपाली समुदायको भावनाअनुरुप ती प्रतिनिधिहरुलाई मान्यता दिनुको अर्को विकल्प नरहेको समेत जानकारी गराइन्छ। साथै, अन्य माध्यमबाट सिफारिस भएका प्रतिनिधिहरुको नाम समेत तत्काल खारेज गर्न माग गर्दछौँ।

संघको विधान अनुरुप राष्ट्रिय समितिको कार्यसमितिबाट चयन हुनुपर्ने १० प्रतिशत महाधिवेशन प्रतिनिधि समेत एकलौटी रुपमा छनोट हुनु, युवा–महिला, विज्ञ, दोश्रो पुस्ता समेट्नुको सट्टा विधान र भावना विपरित आफ्ना नाता र नजिकका पारिवारिक सदस्यहरु मात्र चयन गर्नु आफैंमा निन्दनीय छ । यसर्थ ती नाम समेत तत्काल सच्याउन आग्रह गर्दछौँ।

यसैबीच, बेलायतस्थित गैरआवासीय नेपाली संघका पञ्जिकृत सदस्यहरुले तिरेको सदस्यता शुल्कमध्ये प्रति सदस्य ५ डलर केन्द्रमा बुझाउनुपर्ने वैधानिक र बाध्यकारी व्यवस्था भएपनि सो रकम अझै संघको खातामा जम्मा नहुँदा व्याजस्वरुप प्राप्त हुने लाखौँ रुपैयाँ घाटा भएको समेत जानकारी गराउँदछौँ। जसका कारण केन्द्रमा बुझाउनु पर्ने रु १ लाख बराबरको रकम बुझाउन सकिएको अवस्था छैन । यसर्थ सो रकम समेत संघको खातामा जम्मा गरी जिम्मेवार सदस्यको भूमिका निर्वाह गर्न आग्रह गर्दछौँ।

अन्त्यमा, पारदर्शिता कायम गर्दै, देखा परेका असन्तुष्टि र समस्या समाधानका आ आफ्नो स्थानबाट सहयोग गर्नर गराउन बेलायतबासी समस्त गैरआवासीय नेपालीहरुलाई आग्रह गर्दछौँ । साथै, संघको १० औँ महाधिवेशन तथा निर्वाचनको मिति तत्काल घोषणा गर्न समेत आइसीसी समक्ष आग्रह गर्दछौँ।

निर्वाचित आइसीसी सदस्यहरु (निर्वाचित)

दिनेश घिमिरे
राजेन्द्र पुडासैनी
महेश अधिकारी
कोश्लेश्वर ढकाल
भिमलाल भट्टराई
एलएन पाण्डे
समीर खनाल

शनिवार, १२ फेब्रुअरी २०२२