नेपाली दूतावास मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

नेपाली दूतावास मलेसियाबाट विद्युतीय राहदानीको शुरुवात

काठमाडौ । अबदेखि मलेसियामा बसोबास गर्ने नेपाली नागरिकले नेपाली दूतावासबाट नै विद्युतीय राहदाी पाउने भएका छन्। वैदेशिक रोजगारीको सिलासिलामा लामो समय देखि मलेसियामा रहँदै आएका नेपाली नागरिकलाई सहज होस भनी दूतावासले विद्युतीय राहदानी मलेसियास्थित नेपाली दूतावासबाट नै उपलब्ध गराउने व्यवस्था गरेको हो।

बुधबार भर्चुअल कार्यक्रममार्फत दूतावासले विद्युतीय राहदानीकोे लाइभ इनरोलमेन्ट शुरुवात गर्‍यो। लामो समयदेखि मलेसियामा सामान्य कामदारको रुपमा कार्यरत श्यामकुमार चौधरीकोे राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुआत गरिएको थियो। विभागबाट उनकोे राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको थियो। दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्रोल्मेण्ट गरेको छ।

दूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भाग लिएका थिए। त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेसियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एल्भिन चाय, मलेसियामा कार्यरत गैरआवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो। सो कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहज रुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।

राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद दिए। अर्यालले मलेसियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिंदै मलेसियाबाट विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी भने जारी नहुने जानकारी दिए।