एनआरएनए निर्वाचनमा उम्मेदवारको किनबेच, राजनीतिक दलको नाममा आचार्य समूहद्वारा करोडौं संकलन

एनआरएनए निर्वाचनमा उम्मेदवारको किनबेच, राजनीतिक दलको नाममा आचार्य समूहद्वारा करोडौं संकलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन नजिकिदै गर्दा आर्थिक चलखेल शुरु हुन थालेको छ । अध्यक्षका प्रत्यासी कुल आचार्य समूहले नेपाली कांग्रेसलगायत प्रमुख दलका नेताहरुलाई चन्दा वितरण गर्न आफ्नो प्यानलका उम्मेद्धारसँग रकम संकलन गरेको पाईएको छ।

स्रोतका अनुसार आचार्य समूहले १० औं महाधिवेशनका लागि कुलको समूहको प्रचारप्रसार व्यवस्थित गर्नका लागि काठमाडौंमा एक प्रचार तथा सम्पर्क कार्यालय संचालन गर्ने भएको छ। त्यस्तै, उम्मेद्धारसँग छुट्टै एक /एक लाख रुपैया अग्रिम भुक्तानीको लागि माग गरेको पाइएको छ।

कुल आचार्य र महिला उपाध्यक्ष पदकी उम्मेदवार जानकी गुरुङद्धारा संयुक्त रुपमा पठाईएको निर्देशनमा माछापुच्छ्रे वैंकको खाता नम्बर १६२२५२४१०४४४१९१५ मा रकम जम्मा गर्न समेत आग्रह गरिएको छ। खाता आचार्य, गुरुङ र महासचिवका प्रत्यासी केशव पौडेलको नाममा रहेको सो समूहले जनाएको छ। सो समूहले उठेको रकमको आर्थिक पारदर्शीता रहने समेत आश्वस्त पारेको छ।

स्रोतका अनुसार सो समूहले उम्मेद्धारहरुलाई तोकेरै आर्थिक सहयोग गर्न उर्दी जारी गरेको छ। जसअनुसार उपाध्यक्ष र महासचिव पदमा उम्मेदवारी दिनेको लागि ५०/५० लाख अनिवार्य गरिएको छ । यस्तै सचिव र कोषाध्यक्षको लागी ३० लाख, सहकोषाध्यक्षको लागि २० लाख, युवा तथा महिला संयोजकको लागि १० लाख, क्षेत्रीय संयोजकको लागि ५ लाख, क्षेत्रीय उपसंयोजकको लागि ३ लाख, महिला क्षेत्रीय संयोजक २ लाख र युवा तथा महिला क्षेत्रीय उपसंयोजकको लागि १ लाख रुपैयाँ चन्दा अनिवार्य दिने पर्ने शर्तअघि सारेको छ।

स्रोतका अनुसार उपाध्यक्ष पदको लागि उम्मेदवारहरु राज रेग्मी, आरके शर्मा र महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले एक/एक करोड रुपैया चन्दा आचार्यलाई बुझाएका छन्। यस्तै उपाध्यक्षका अर्का प्रत्यासी सुनिल शाहले ५० लाख रुपैयाँ एडभान्स बुझाई सकेका छन्। ५ जना उपाध्यक्षहरु रेग्मी, शर्मा, शाह, त्रिलोक गुरुङ र गणेश केसीले आचार्यको खातामा पैसा जम्मा गरी सकेका छन्। सो समूहले सम्पूर्ण उम्मेदवारसँग आर्थिक संकलन हुन सके १० करोड भन्दा बढी चुनावमा खर्च गर्ने योजना बनाएको छ।

आचार्यले संकलित रकम नेपालका राजनीतिक दलका नेताहरुलाई बुझाउने भन्दै आएका छन्। तर, आर्थिक संकलनको पारदर्शितामा उम्मेद्धारहरुले आंशका व्यक्त गरेका छन्।

चन्दा नदिदा टिमबाटै आउट

संघको फेब्रुअरीको अन्तिम साता हुने निर्वाचनमा उम्मेदवार बन्न चाहाना राखेका तर,आचार्यको माग अनुसार पैसा दिन अईच्छुकहरुलाई समेत प्यानलबाटै हटाइएको छ। सो समूहले नारायण काफ्ले (अष्ट्रेलिया), सुरेन्द्र सिग्देललाई सचिव पदको उम्मेदवार बन्न ३० लाख रुपैयाँ माग गरेको थियो। तर, उनीहरुले उम्मेदवार किनबेचको मोलमोलाईकोे चक्करमा नफस्ने भन्दै समूहबाटै बाहिने निर्णय गरेका छन्।

संघको १० औं महाधिवेशनमा सरकारले हस्तक्षेप गरेपछि रोकिएको निर्वाचन अझै अन्योलमा रहेको छ। संघको महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक समिति गठन गरेको छ। समितिले अन्तिम निर्णय शनिवार सम्म दिने अपेक्षा गरिएको छ। अध्यक्ष पदका लागि रविना थापा, डा. बद्री केसी र कुल आचार्य चुनावी मैदानमा छन्।