गैरकानूनी रुपमा बस्दै आएका आप्रवासीलाई मुलुक छाड्न कोरियाली सरकारको आग्रह

गैरकानूनी रुपमा बस्दै आएका आप्रवासीलाई मुलुक छाड्न कोरियाली सरकारको आग्रह

काठमाडौ। कोरियाली सरकारले गैरकानूनी रुपमा कोरियामा बस्दै आएका आप्रवासीलाई मुलुक छाड्न आग्रह गरेको छ। कोरिया बस्दै आएका विदेशी नागरिकमा ओमिक्रोन भेरियन्ट तिव्र रुपमा बढ्दै गएकाले सामुदायिक स्तरमा फैलिन सक्ने भन्दै कोरियाले सरकारले यस्तो आग्रह गरेको हो। मुलुक छाड्ने विदेशी नागरिकलाई कोरियाली सरकारले छुटको सुविधा समेत दिने भएको छ।

कोरियाली सरकारले दिएको सुविधा अनुसार अप्रिल ३०, २०२२ सम्म कोरियामा तेस्रो डोज खोप लगाएका र अक्टोबर ३१, २०२२ सम्म स्वेच्छाले कोरिया छाड्ने अबैध बासिन्दाहरुलाई जरिवाना छुट प्रवेश प्रतिबन्दहरु निलम्बनमा छुट दिने भएको छ।

त्यस्तै, कोरियामा २८ फेबु्रअरी, २०२२ सम्ममा पूर्ण रुपमा खोप लगाएका र ३० अप्रिल २०२२ सम्ममा स्वेच्छाले कोरिया छाड्ने अवैध बासिन्दालाई छुट र प्रवेश प्रतिबन्दहरु निलम्बन गरिनेछ । त्यसको लागि खोपको प्रमाण पेश गर्नुपर्नेछ । तर, अपराधिक कार्यमा संलग्न, खोप नलगाएका व्यक्तिहरु, कोभिड प्रतिबन्धहरुको उल्लघंन गर्नेहरु र अध्यागमन अधिकारीहरुले पक्राउ गरेका अबैध वासिन्दाहरुको हकमा यो योजना लागू हुने छैन।

पूर्ण खोप लगाएका गैरकानूनी बासिन्दाहरुले स्वैच्छिक प्रस्थानको घोषणको लागि अध्यागमन कार्यलयमा गएर वा अनलाईन आवेदन भरेर बन्दरगाह वा एयरपोर्टहरुमार्फत सोही दिन कोरिया छाड्दा जरिवाना र प्रवेश प्रतिबन्धहरु निलम्बनबाट छुट पाउनेछन्। आवेदन प्रस्थानको मिति भन्दा कम्तिमा तीन दिन अघि पेश गर्नुपर्नेछ । विदाको दिनको गणना नगरिने कोरियाली सरकार जनाएको छ।