विदेशबाट ठगिएर आएका युवाको समस्या समाधान गर्न मन्त्री श्रेष्ठको निर्देशन

विदेशबाट ठगिएर आएका युवाको समस्या समाधान गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा समस्यामा परेका व्यक्तिको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन ।

आइतबार विभागको कार्यालयलाई अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा ठगिएका व्यक्तिको गुनासो सक्दो छिटो समाधान गर्न विभागलाई निर्देशन दिएका हुन ।

विदेशबाट ठगिएर आएका युवाको समस्या समाधानमा विभागका कर्मचारीले चासो नदेखाएको कुरा आफूले अनुगमनका क्रममा पाएको बताउँदै मन्त्री श्रेष्ठले विभागमा कार्यरत कर्मचारीलाई आफ्नो कार्यशैलीमा सुधार गर्न निर्देशन दिए । “श्रम मन्त्रालयका तर्फबाट हाम्रो अनुरोध छ, समस्यामा परेर आएका युवाको गुनासो तत्काल लिइदिनुस् । कर्मचारीले गुनासो सुनेर समाधानको बाटो यो हुनसक्छ भन्दा प्रभावित युवाको ५० प्रतिशत घाउमा मलम लाग्छ,” विभागका महानिर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिदै मन्त्री श्रेष्ठले भने, “श्रम सचिव एकनारायण अर्यालसहित मैले विभागको अनुगमन गर्दा विभागका कर्मचारीबाट सेवाग्राहीले सहज रूपमा सेवा पाउन नसकेको भन्ने हामीले गुनासो पायौँ, यस प्रकारको बेथितिलाई तुरुन्त सुधार्नुस् । ”

सो क्रममा उनले वैदेशिक रोजगारीका क्रममा ठगिएर न्यायका लागि विभाग आएका युुवाको समस्या के कसरी सक्दो छिटो समाधान गर्न सकिने हो त्यसबारेमा कर्मचारीसँग छलफल गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्नसमेत निर्देशन दिए । उनले भने, “विभागको कार्यलाई चुस्त दुरुस्त बनाउन के अभाव छ भन्नुहोस्, उपलब्ध गराउँछौँ तर सेवाग्राहीलाई सेवा दिँदा कुनै बहाना बनाउनु हुँदैन । ”

यसैबीच मन्त्री श्रेष्ठ संयुक्त अरब इमिरेट्स (यूएई)मा अलपत्र नेपालीको व्यवस्थापनका लागि आउने साता यूएई जाने भएका छन । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ यूएई जान लागेको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स (यूएई)का राजदूत साइद हमदान अल नाकीसँग आइतबार मन्त्रालयमा छलफलसमेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पु(याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठले बताए ।