निर्वाचन तालिका सार्वजनिक गर्न अध्यक्ष प्रत्यासी केसीको माग

निर्वाचन तालिका सार्वजनिक गर्न अध्यक्ष प्रत्यासी केसीको माग

काठमाडौं। गैरआवासीय नेपाली संघको आगामी महाधिवेशनका अध्यक्ष प्रत्यासी डा.बद्री केसीले निर्वाचन तालिका प्रकाशन गर्न माग गरेका छन्। आइतबार पत्रकार सम्मेलन आयोजना गरि अध्यक्ष प्रत्यासी केसीले संघलाई वैधानिक रुपमा अघि बढाउन पनि निर्वाचनको विकल्प नभएको बताए। त्यसैले संघको निर्वाचनलाई सुनिश्चित गर्न निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्वाचन समिति समक्ष माग गरे।

निर्वाचनमा भएको ढिलाइले विश्वभरका तीन हजार ६०० बढी गैरआवासीय नेपालीहरुको मतदानको अधिकार खोसिएको अध्यक्ष प्रत्यासी केसीले बताए। साथै यस अन्योलले समग्र गैरआवासीय नेपाली संघको छवि धमिलिँदै विकृतिहरु बढेको भान परेको उनले बताए। यसका साथै, महाधिवेशन प्रतिनिधिमा देखा परेको असन्तुष्टि सम्बोधन गर्न यसअघि गठित घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलको समेत समयावधि सकिसकेको हुँदा तत्काल आइसीसी कार्यसमितिको बैठक बोलाई थप निर्णय गर्न समेत उनले आग्रह गरे।

गत वर्षको जुलाइ ३१ भित्रै ६४ एनसीसीको निर्वाचन सम्पन्न भई आइसीसी महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लागिसकेको थियो । तर, महाधिवेशन प्रतिनिधिका विषयमा केही एनसीसीमा देखिएको असन्तुष्टिले वर्तमान असहज अवस्था सिर्जना भएको तर यस परिस्थतिलाई सहज बनाउन र असन्तुष्टि समेत सम्बोधन भइसकेकोको अवस्थामा पनि निर्वाचनलाई अनिर्णयको बन्दी बनाइराख्नु न्यायोचित नहुने उनले बताए।

´संघका सबै पक्षलाई समेटेर सबैखाले असन्तुष्टिको अन्त्य गर्ने उद्देश्यले नै पटक पटक समस्या समाधानका लागि पहल भएका छन् । हाम्रा प्रयासहरु विधि,विधानसम्मत छन् भन्ने ठहर पाटन उच्च अदालतले समेत गरिसकेको छ,´ उनले भने।

संघका अध्यक्ष कुमार पन्तद्वारा गठित ५ सदस्यीय समितिले अघिल्लो महिनाको (जनवरी) पहिलो साता पनि सबै पक्षसँग घनीभूत छलफल गरी ७ बुँदे सहमति समेत जुटाइएको थियो। साथै आइसीसी बैठकको निर्णय, विधान व्याख्या समितिको निर्णय, र पछिल्लो पटक संरक्षक शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गठन गरेको कार्यदलले तयार पारेको प्रतिवेदनले समेत प्रतिनिधि छनोट वैधानिक भएको आधारहरु पुष्टि गरिसकेको उनले स्पष्ट पारे।

निर्वाचन सम्पन्न गर्न हदैसम्मको लचकता अपनाउँदा पनि केही शक्ति केन्द्रको आडमा साइबर क्राइमको नाममा झूठा र आधारहिन आरोप लगाई निर्वाचनमा उम्मेदवारी घोषणा गरेका संघका पदाधिकारीको मनोबल गिराउने मनसाय समेत देखिएको उनले दाबी गरे।

´तर, हामी विश्वस्त छौँ कि यसमा पनि सत्यकै जित हुनेछ,’ उनले भने “ यी सबै गतिविधिलाई पनि निर्वाचन बिथोल्ने प्रपञ्चकै रुपमा हामीले लिएका छौँ ।’ अन्यथा संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी २८ तारिखमा सम्पन्न गर्न सम्पूर्ण आन्तरिक तयारी पूरा भइसकेको अवस्थामा पनि विभिन्न प्राविधिक समस्या देखाएर निर्वाचन गर्न नदिनुपर्ने कुनै स्पष्ट आधार नभएको उनले बताए।