यूएई नेपालको प्रमुख व्यापारिक साझेदार मध्येको एक हो : राजदूत ढकाल

यूएई नेपालको प्रमुख व्यापारिक साझेदार मध्येको एक हो : राजदूत ढकाल फोटो सौजन्य : विक्रम लामा

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले नेपाल पर्यटनका लागि मात्रै नभई वैदेशिक लगानीका लागि पनि आकर्षक गन्तव्य भएको बताएका छन्। ‘दुबई एक्स्पो’मा यूएई सरकारले आयोजना गरेको ‘नेपाल डे’ कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत ढकालले एक पटक नेपालको भ्रमण गर्न समेत आग्रह गरे।

‘नेपाल प्राकृतिक रुपले परिपूर्ण छ । नेपालमा उत्तरमा हिमालय, मध्यमा रहस्यमय पहाड र दक्षिणमा उर्वर मैदानहरू देख्न सकिन्छ,’ राजदूत ढकालले भने । विश्वभरबाट हजारौं मानिसले समृद्ध र विविधतायुक्त नेपाली संस्कृतिको अवलोकन गर्दै आनन्द लिइरहेको उनले बताए ।

त्यस्तै, राजदूत ढकालले एक्स्पोमा समावेशी र दिगो विकासका लागि सहकार्य र साझेदारी विकास गर्नुका साथै रणनीति र कार्यक्रम तर्जुमा गर्न एकअर्काबाट सिक्ने अवसर पाएका बताए।

नेपाल र यूएईबीचको १९७७ मा कुटनैतिक सम्बन्ध स्थापना भएदेखि यताको द्विपक्षीय सम्बन्धको उत्कृष्ट अवस्थाको बारेमा राजदूत ढकालले खुशी व्यक्त गरे।

फोटो सौजन्य : विक्रम लामा

‘हाम्रा सम्बन्धहरू मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगकोद्वारा सजिएका छन्। यूएईले २ लाख ५० हजारभन्दा बढी नेपाली  श्रमिकलाई रोजगार दिएको मात्रै नभई, नेपालको प्रमुख व्यापारिक साझेदार मध्येको एक हो,’ उनले भने।

कोभिड–१९ महामारी र २०१५ को महाभूकम्पजस्ता कठिन समयमा यूएई सधैं नेपालको भरपर्दो साझेदारको रुपमा रहदैं आएको बताउँदै राजदूत ढकालले संयुक्त राष्ट्र संघ र असंलग्न आन्दोलन जस्ता अन्तर्राष्ट्रिय फोरमहरूमा प्रमुख वैश्विक मुद्दाहरूमा दुवै देशको समान धारणा रहँदै आएको बताए।

यूएई सरकारले ग्लोबल शोमा सहभागी हुन नेपाललाई अवसर प्रदान गरेकोमा राजदूत ढकालले आभार व्यक्त गरे।

फोटो सौजन्य : विक्रम लामा