नेपाल र यूएईका नागरिकस्तरको सम्बन्ध थप प्रगाढ : मन्त्री हुसेनी

नेपाल र यूएईका नागरिकस्तरको सम्बन्ध थप प्रगाढ : मन्त्री हुसेनी तस्वीर सौजन्य : एक्स्पो दुबई २०२० अफिसियल

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) का विदेश तथा अन्तर्राष्ट्रिय समन्वय सम्बन्ध सहायक मन्त्री ज्याकुब युसुफ अल हुसेनीले यूएई–नेपालबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका छन्।

बिहीबार ‘दुबई एक्स्पो’ मा आयोजित ‘नेपाल डे’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री हुसेनीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ र सुढृड हुँदै गएको बताएका हुन्।

नेपाल र यूएईबीच ४५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापित भएको स्मरण गर्दै मन्त्री हुसेनीले अहिले दुई देशबीचको सम्बन्ध नागरिक स्तरमा फैलिएको बताए। हाल यूएईमा २ लाख ४० हजार नेपाली  कार्यरत रहेको जानकारी उनले गराए।

मन्त्री हुसेनीले कूटनीतिक सम्बन्ध स्थापित भएयता दुवै देशको विकासमा समेत मह्त्वपूर्ण योगदान पुगेको उल्लेख गरे। दुवै देश एकअर्काको भरपर्दो साझेदार बन्दै आएको उनको भनाइ छ।

सम्बोधनका क्रममा मन्त्री हुसेनीले चीन र भारतको बीचमा रहेको नेपाल विविधताले भरिपूर्ण भएको बताए। उनले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना रहेको उल्लेख गरे।

मन्त्री हुसेनीले ‘नेपाल डे’ कार्यक्रममा आफू उपस्थित हुन पाउँदा खुशी लागेको बताए। विश्वव्यापी महामारीका बाबजुत ‘दुबई एक्स्पो–२०२०’ सफलतापूर्वक चलिरहेको बताउँदै मन्त्री हुसेनीले यसमा सहयोग पुर्‍याउने नेपाललगायतका विभिन्न देशप्रति आभार व्यक्त गरे।

आबुधाबीस्थित नेपाली दूतावास र नेपाल सरकारबाट एक्स्पोको जिम्मेवारी पाएको ‘इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुपको समन्वयमा ‘नेपाल डे’ मनाइएको हो।