एनआरएनएले व्यूरोलाई दियो प्रतिउत्तर– जापानको निर्वाचनमा आइसीसीको कुनै सरोकार छैन

एनआरएनएले व्यूरोलाई दियो प्रतिउत्तर– जापानको निर्वाचनमा आइसीसीको कुनै सरोकार छैन

काठमाडौ । गैरआवासीय नेपाली संघले जापानको अनलाईन निर्वाचन प्रणालीमा अन्तराष्ट्रिय समन्वय परिषद्को कुनै पनि हस्तक्षेप नभएको प्रस्टीकरण दिएको छ ।

संघले नेपाल प्रहरी अनुसन्धान व्यूरोलाई प्रतिउत्तर दिदै अनलाईन मतदानको सम्पूर्ण अधिकार राष्ट्रिय समन्वय परिषद्लाई हुने भएकाले आईसिसिसँग कुनै सरोकार नभएको स्पष्ट पारेको छ ।

राष्ट्रिय समन्वय परिषद् जापान एक स्वायत्त संस्था हो । यस संस्था स्वयम्ले निर्वाचन कार्यविधि अन्र्तगत निर्वाचन समितिको गठन र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रक्रिया तयार पारी कार्यन्वयन गरेको हो । त्यस्तै, हालै सम्पन्न भएको निर्वाचनमा प्रयोग भएको अनलाईन निर्वाचन प्रणाली राष्ट्रिय समन्वय परिषद् जापान आफैले छानेको हो । उक्त प्रणाली सम्झौता अनुसार तेश्रो पक्ष इलेक्शन बडी को हो । अन्तराष्ट्रिय समन्वय परिषद्को हैन । त्यसैले अनलाईन मतदान प्रणालीको विस्तृत विवरण अन्तराष्ट्रिय समन्वय परिषद्ले उपलब्ध गराउने नसक्ने संघले प्रष्टीकरण दिएको छ । राष्ट्रिय समन्वय परिषद् जापानले तेश्रो पक्षको प्रणाली मार्फत निर्वाचन गराएकोले कार्यलयमा माग गरिएको विवरणहरु समेत उपलब्ध नभएको संघले पत्रमा उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय समन्वय परिषद्ले पंजीकृत सदस्यता दर्ताको लागि एक केन्द्रिय मेम्बरसिप इन्फरमेशन सिस्टम (एमआईएस) तयार पारेको छ । यस प्रणाली मार्फत सदस्यता आवेदन दिने काम पंजीकृत सदस्य स्वयंमले मात्र गर्न सक्छन् । सदस्यताको अनुमोदन तथा प्रमाणित गर्ने अधिकार राष्ट्रिय समन्वय परिषद् जापान मै निहित रहेको छ । एमआइएमएसबाट दर्ता भएका सदस्यहरुको विवरण राष्ट्रिय समन्वय परिषद् जापानले नै अनलाईन निर्वाचन गर्ने तेश्रो पक्षलाई उपलब्ध गराएको संघले जनाएको छ ।

संघको केन्द्रमा भएको एमआइएस प्रणालीमा राष्ट्रिय समन्वय परिषद् जापान स्वयंमले सदस्यहरुका विवरणहरु स्वीकृत गरी तेश्रो पक्षको अनलाईन मतदान गराउने भेण्डरलाई उपलब्ध गराईकोले मतदानमा अन्तराष्ट्रिय समन्वय परिषद्को कुनै प्रत्यक्ष सम्बन्ध नभएको प्रस्ट पारेको छ । सदस्यता दर्ता गर्ने एमआईएस बारे जानकारी चाहिएमा सचिवालयको आईटि टिमले उपलब्ध गराउने संघले पत्रमा उल्लेख गरेको छ ।

गत सोमबार नेपाल प्रहरी अनुसन्धान व्यूरोले गैरअवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त सहित अन्य पाँच पदाधिकारीलाई अनुसन्धानको लागि भन्दै कार्यलय उपस्थित हुन पत्राचार गरेको थियो । व्यूरो जापानको अनलाईन निर्वाचन प्रणालीमा संघका पदाधिकारीले घोटाला गरेको उजुरी परेको भन्दै संघसँग विस्तृत जानकारी समेत मागेको थियो ।