परराष्ट्रपछि प्रहरी शरणमा कुल आचार्य समूह, आफ्नै संस्था सिध्याउन लागेको भन्दै चौतर्फी विरोध

परराष्ट्रपछि प्रहरी शरणमा कुल आचार्य समूह, आफ्नै संस्था सिध्याउन लागेको भन्दै चौतर्फी विरोध

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तसहित अन्य पदाधिकारी माथि प्रहरी प्रधान कार्यालय साइबर ब्युरोको अपराध अनुसन्धान शाखाले छानविन शुरु गरेको छ। जापानको अनलाइन मतदानमा धाँधली भएको भन्दै प्रहरीमा उजुरी परेपछि व्यूरोले छानबिन प्रक्रिया अगाडी बढाएको हो ।

संघको कार्यसमितिविरुद्ध विद्युतिय कारोबार ऐन २०६३ अनुसार अपराध छानविनको माग गर्दै शाखामा उजुरी परेको हो।

व्यूरोले संघका अध्यक्ष कुमार पन्तसहित अन्य पाँच जना पदाधिकारीले अपराध गरेको भन्दै चलानी नम्बर ०८९ सहितको पत्र काटेको छ। व्यूरोले संघका उपाध्यक्ष डा. बद्रि केसी, महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठलाई समेत पत्र काटी माघ २१ गतेभित्र आफै वा प्रतिनिधिमार्फत स्पष्टीकरण दिन भनेको छ।

स्रोतका अनुसार संघको आगामी निर्वाचनका अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले प्रहरीमा उजुरी दिएको हो। संघको आगामी २८ फेब्रुअरीमा हुने निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले आचार्य समूहले प्रहरीमा उजुरी दर्ता गराएका हुन्।

उजुरीकर्ताले एमआइएस (मेम्बर इन्फरमेशन सिष्टम) को अनुगमन समितिका संयोजक तथा उपाध्यक्ष मन केसीको भने बचाउन गरेका छन्। केसी आचार्य समूहमा सक्रिय छन् ।

स्रोतले भन्यो ‘उजुरी गरिएको व्यक्तिको विवरणबाटै थाहा हुन्छ यो कुन नियतले प्रहरीमा पुगिएको हो ।’

एक समूहका उम्मेद्धावारहरुकाविरुद्ध छानिछानी उजुरी परेको देखिन्छ। यसअघि परराष्ट्र मन्त्रालयको प्रयोग गरेर संघको निर्वाचन प्रभावित गर्न खोजियो। परराष्ट्रलाई पाटन उच्च अदालतले लगाम लगाइदिएपछि आचार्य समूह प्रहरीको शरणमा पुगेको देखिन्छ ।

उजरी परेकामध्ये संघको निर्वाचनमा उपाध्यक्षका प्रत्यासीहरु डा. शर्मा, श्रेष्ठ र महासचिवका प्रत्यासी गौरीराज जोशी अध्यक्षका प्रत्यासी डा. बद्री केसी समूहका उम्मेदवार हुन् ।

यसअघि संघले महाधिवेशन प्रतिनिधि विवाद मिलाउन पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा एक उच्च स्तरिय कार्यदल गठन गरेको थियो। कार्यदलले आगामी शनिवारसम्म आफ्नो प्रतिवेदन संघका अध्यक्ष पन्त समक्ष पेश गर्ने अपेक्षा गरिएको छ । कार्यदलको बैठकले ५ फेब्रोअरी देखि संघको निर्वाचन प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

आचार्य समूहको अहिले सामाजिक एनआरएनए वृत्तमा व्यापक बिरोध भइरहेको छ। सामाजिक संजालमा आफ्नै संस्था सिध्याउन खोजेको भन्दै उनको आलोचना भइरहेको छ।