खाडी मुलुकबाट फर्किएका श्रमिक कुष्ठरोगको उच्च जोखिममा

खाडी मुलुकबाट फर्किएका श्रमिक कुष्ठरोगको उच्च जोखिममा

काठमाडौं । खाडी मुलुकबाट फर्किएका नेपाली श्रमिक कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ । सन् २०२१ नोभेम्बरमध्यदेखि डिसेम्बर मध्यसम्म झापा जिल्लामा खाडीबाट फर्किएका पाँच जनामा कुष्ठरोग देखिएको छ।

नेपाल कुष्ठरोग जिल्ला कार्यक्रमका प्रमुख पर्शुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक नगरपालिका र बिर्तामोड नगरपालिकामा एक–एक जनामा कुष्ठरोग देखिएको बताए। कुष्ठ रोग लागेकाहरुको निदानपछि उपचार सुरु गरिएको उनले बताए।

उनले प्रवासमा काम गर्ने नेपाली कामदारहरु संक्रमक रोग र कुष्ठरोगको अत्याधिक जोखिममा रहेको बताए । ‘धेरैजना रोजगारीको क्रममा विदेशमा बस्दा सामान्यतया एउटै कोठामा सँगै बस्छन्,यसकारण उनीहरु यो रोगको जोखिममा पर्छन,’ उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार जिल्लामा सन् २०२१ को डिसेम्बर मसान्तसम्ममा ३६ नयाँ कुष्ठरोगी भेटिएका छन् जसमा एक बालक र एक बालिका रहेका छन्।

१४ वर्षको उमेर समूह विशेष गरी कुष्ठरोग उन्मूलनको लागि लिइन्छ। तर, दुई बालबालिकामा कुष्ठरोगको पहिचानले जोखिमको स्तर बढेको देखाउँछ। गत आर्थिक वर्षमा जिल्लामा १० बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ ।

रोगको प्रकृतिअनुसार कुष्ठरोगी १४ जनालाई ६ महिना र २२ जनालाई एक वर्षसम्म औषधि खुवाउने गरिएको छ।

गम्भीर बिरामी भएका केहीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दभवनमा पठाइएको थियो।

गत वर्ष मात्रै २१ जना कुष्ठरोगीलाई थप हेरचाह र उपचारका लागि केन्द्रमा रिफर गरिएको उनले जानकारी दिए।