‘भिजिट भिसा’मा यूएई पुगेका युवा ४ महिनादेखि अलपत्र

‘भिजिट भिसा’मा यूएई पुगेका युवा ४ महिनादेखि अलपत्र

काठमाडौं। रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका एक नेपाली युवा अलपत्र परेका छन्। रामेछापका छिरिङ शेर्पा काम नपाएपछि विगत ४ महिनादेखि यूएईको अजमानमा अलपत्र परेका हुन्।

शेर्पालाई गत १ अक्टोबरमा काठमाडौंस्थित फिस्टेल म्यानपावरका प्रतिनिधि रेशम लामिछाने र तुलशा अधिकारीले ३ लाख ३० हजार रुपैयाँ लिएर ‘भिजिट भिसा’मा यूएई पठाएका थिए। आफूलाई लामिछाने र अधिकारीले सुरक्षा गार्डको काम र १८ सय दिराम तलब भनेर यूएई पठाएको शेर्पाको भनाइ छ।

‘गएको भोलि पल्टै काम लगाइदिन्छौँ भनेका थिए। तर, चार महिना भइसक्यो यहाँ काम पाएको छैन,’ शेर्पाले यूएईबाट प्रवास खबरसँग भने, ‘यहाँ सुत्ने ठाउँ पनि राम्रो छैन। खानाको व्यवस्था केही छैन। एउटै कोठामा २३ जनाभन्दा बढी मान्छे राखेको छ।’आफूलाई अन्य ग्रुपले पठाएका नेपालीसँग राखेको शेर्पाले बताए।

शेर्पालाई फिस्टेल म्यानपावरका प्रतिनिधिसँग उनकै फुपाजु नाता पर्ने आयुश बम्जनले भेटाएका थिए। आफूलाई फसाउन फुपाजु बम्जनको समेत हात रहेकाे शेर्पाको आरोप छ। समस्यामा परेपछि शेर्पाले अहिले यूएईस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए)मा निवेदन गरेर सहयोगको याचाना गरेका छन्।

खानकै लागि समस्या परेपछि साथीभाइसँग सापटी मागेर चलिरहेको शेर्पाले बताए। ‘केही समय त मलेसियामा रहेका साथीले पैसा पठाइदिएर भोक टारेँ। साथीभाइसँग पनि कतिपटक माग्ने ? अहिले त भोकभोकै बस्नु पर्ने अवस्था छ,’ उनले सुनाए,‘ भोकै बस्नुपर्ने भएपछि नेपालमा आमालाई पैसा पठाइदिनुहोस् भनेको थिएँ। तर, नेपालबाट पैसा पठाउन नमिल्ने रहेछ।’

फुपाजु बम्जनले भने शेर्पालाई अलपत्र पार्नुमा आफ्नो कुनै दोष नभएको दावी गरे। ‘उ मेरो जेठानको छोरा हो। समस्या परेको रहेछ। उसलाई झिकाउन म्यानपावरमा मैले कुरा गरिरहेको छु। उसलाई पठाउने मुख्य मान्छे फिस्टेल अफिसका कर्मचारी हुन्,’ उनले प्रवास खबरसँग भने।

यसविषयमा प्रवास खबरले फिस्टेल म्यानपावरकी म्यानेजर समेत रहेकी अधिकारीलाई सम्पर्क गरेको थियो। प्रवास खबर प्रतिनिधिसँगको कुराकानीमा उनले छिरिङलाई ‘भिजिट भिसा’मा यूएई पठाएको स्वीकार्दै भनिन्, ‘उहाँलाई त्यहाँ काम नदिएको भन्ने चाँही होइन। उहाँ काम गर्न तयार हुनुभएन।’

अधिकारीले शेर्पालाई सकुशल नेपाल फिर्ता ल्याउने र क्षतिपूर्ति दिने प्रवास खबरसँग प्रतिबद्धता समेत जनाइन्। ‘उहाँको  फर्किने चाहान रहेछ। हामीले पर्सी नै नेपाल फर्किन टिकटको व्यवस्था गर्दैछौँ। यहाँ आइसकेपछि सबै क्षतिपूर्ति दिन्छौँ।’

पछिल्लो समय रोजगारीको प्रलोभन देखाएर ‘भिजिट भिसा’मार्फत गैरकानूनी रुपमा यूएई पुर्‍याइ नेपालीलाई अलपत्र पार्ने क्रम बढेपछि त्यसलाई रोक्न श्रममन्त्री कृष्णकुमार श्रेष्ठले सक्रियता बढाएका छन्। सरकारले ‘भिजिट भिसा’मा यूएईलगायत खाडी मुलुकमा गएर नेपालीले भोग्नुपरेका समस्या समाधान गर्न सात सदस्यीय समिति समेत गठन गरेको छ।