क्यानडामा ट्रक चालकहरुद्धारा विरोध प्रदर्शन

क्यानडामा ट्रक चालकहरुद्धारा विरोध प्रदर्शन

ओटावा । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले विरोध प्रदर्शन गरेका छन् । ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन् ।

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ । उनीहरु झण्डै एक लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्याङ्क देखाइएको छ ।

राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन् । प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ ।

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरुले बताएका छन् ।