ऊर्जा मन्त्री भुसाल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

ऊर्जा मन्त्री भुसाल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी जान भोल्कले शिष्टाचार भेट गरेका छन । मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको हो ।

सो अवसरमा मन्त्री भुसालले अष्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको उल्लेख गर्दै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिईन । उनले विश्वले सामना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलाभन्दा अझ बढी आवश्यक रहेको उल्लेख गरिन ।

नेपाल–अस्ष्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेका भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ष्ट्रेलियाले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन ।

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अष्ट्रेलिया सरकारले निरन्तर सहयोग गर्ने विश्वास दिलाए । भेटका क्रममा उनले जलस्रोत र नवीकरणीय ऊर्जा प्रवद्र्धनमा पनि सहयोग गर्न इच्छुक रहेको उल्लेख गरे । राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । उनले जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरिरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाइने बताए ।

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अस्ष्ट्रेलियाको ‘कमनवेल्थ साइन्टिफीक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन’ (सिएसआइआरओ) बीच सन् २०१७ मा समझादारी भएको थियो । सो सम्झौताअनुसार सिएसआइआरओ र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ ।