कुवेतमा नेपाली बस्ने फ्लाटमा आगलागी, २ महिला गम्भीर घाइते

कुवेतमा नेपाली बस्ने फ्लाटमा आगलागी, २ महिला गम्भीर घाइते सांकेतीक तस्वीर

कुवेत सिटी। कुवेतमा आगलागीमा परि २ नेपाली महिला गम्भीर घाइते भएका छन्। कुवेतको फर्वानिया बल्कस्थित नेपाली बस्ने एक फ्लाटमा आगलागी हुँदा आरती भनिने भिम कुमारी खत्री र बिमली भनिने बिमला दर्जी गम्भीर घाइते भएका हुन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका महासचिव दिलकुमार पाख्रिनका अनुसार शनिबार बिहान करिब ७ बजे विद्युत सट भएर आगलागी भएको थियो। आगलागीमा परेका ४ नेपालीले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।

आगलागी भएपछि भागदौड मच्चिएको थियो। घाइते ती दुई महिला आफ्नो केही महत्त्वपूर्ण सामान जोगाउन सकिन्छ कि भनेर पुन : फर्केर प्लाटमा गएका थिए। तर, चारैतिर आगो र बाक्लो धुवाँका कारण उनीहरु त्यहाँबाट बाहिर निस्किन सकेनन्।

उनीहरुलाई अन्तिम अवस्थामा अग्नी नियन्त्रकले उद्धार गरेका थिए। घाइते ती महिलाको आइसीयूमा उपचार भइरहेको छ।

महासचिव पाख्रिनका अनुसार आललागीमा त्यहाँ बस्ने नेपालीका सम्पूर्ण समान जलेर नष्ट भएका छन्। घटनास्थल पुगेका केही संघका प्रतिनिधिले पीडितलाई तत्कालका लागि केही आर्थिक सहयोग समेत गरेका थिए।

यता कुवेतस्थित नेपाली दूतावासले भने घटनाबारे अनौपचारिक जानकारी पाएको तर, वृस्तित विवरण भने अहिलेसम्म प्राप्त भइनसकेको जनाएको छ।

‘घटनाबारे केही नेपाली प्रतिनिधिहरुले हामिलाई हिजो साँझ फोनमार्फत जानकारी गराउनु भएको थियो। हिजो शनिबार, यहाँ सार्वजानिक बिदा भएकोले स्थानीय निकायसँग समन्वय गर्न कठिन भयो,’ दूतावासका दितिय सचिव श्रीकृष्ण सिलवालले प्रवास खबरलाई जानकारी दिँदै भने, ‘हामी अहिले यहि घटनाबारे बुझिरहेका छौँ। केहीबेरमा सबै जानकारी प्राप्त हुनेछ।’