विमानस्थल अध्यागमनका कर्मचारीले डियुटीमा मोबाइल चलाउन नपाउने

विमानस्थल अध्यागमनका कर्मचारीले डियुटीमा मोबाइल चलाउन नपाउने फाइल तस्वीर

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल चलाउन नपाउने भएका छन्।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै डिपार्चर कक्ष र अराइभल कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ।

अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर मोबाइल प्रयोग गर्न पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।

डिपार्चर कक्ष र अराइभल कक्षमा प्रशासन शाखाल आवश्यकता परेमा अफिसियल सिम र मोबाइलको व्यवस्था गरिदिनेछ।